© 2026
काठमान्डौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ दिएका छन् ।
एक महिलासँग आपत्तिजनक आरोप लगाउने तथा धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिने अडियो सार्वजनिक भएपछि सांसद सुनार विवादमा तानिएका हुन् ।
यस प्रकरणमा उठेका प्रश्नबारे लिखित प्रतिक्रिया माग्दै रास्वपा केन्द्रीय अनुशासन आयोगले मंगलबार सुनारलाई पत्र पठाएको थियो । आयोगमा जवाफ पठाउँदै सुनारले आफूमाथि लागेको आरोप अस्वीकार गरेको आयोगका एक सदस्यले जानकारी दिए ।
‘तोकिएकै समयमा उहाँले लिखित प्रतिक्रिया दिनुभएको छ । पत्रमा आफूमाथि लागेको आरोप अस्वीकार गर्नुभएको छ’, ती सदस्यले भने, ‘आरोप स्वीकार गरेको भए कारबाही प्रक्रिया अगाडि बढ्थ्यो । उहाँले आरोप स्वीकार गर्नुभएको छैन । पीडित पक्षबाट उजुरी पनि नआएकाले स्वतन्त्र छानबिन प्रक्रिया अगाडि बढाउँछौँ ।’
आपत्तिजनक तथा धम्कीपूर्ण भाषा प्रयोग गर्दै महिलालाई ‘ब्ल्याकमेलिङ’ गरेको सुनिने अडियो सोमबार जनआस्था साप्ताहिकले सार्वजनिक गरेको थियो । उक्त अडियोलाई लिएर चौतर्फी आलोचना भएपछि रास्वपाले सत्यतथ्य अनुसन्धान गरी छानबिन प्रक्रिया अगाडि बढाउन पार्टी अनुशासन आयोगलाई निर्देशन दिएको थियो ।
आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले पहिलो चरणमा लिखित प्रतिक्रिया लिने काम सम्पन्न भएको र दोस्रो चरणको छानबिन सुरु गरिएको बताए ।
‘विषयवस्तुको गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै उहाँको लिखित प्रतिक्रियाका अतिरिक्त दोस्रो चरणको छानबिन प्रारम्भ भएको छ’, भट्टराईले भने ।
उनका अनुसार दोस्रो चरणमा अडियोको वास्तविक स्रोतसम्म पुगेर प्रमाण सङ्कलन गर्ने तथा आवश्यक कागजात मगाउने काम सुरु गरिएको छ । यसका लागि सम्बन्धित सञ्चारमाध्यमसँग पत्राचार गरिने उनले बताए ।
‘खगेन्द्र सुनारसँग सम्बन्धित विषयमा आवश्यक प्रमाण सङ्कलन भइरहेको छ । आवश्यक परे विशेषज्ञको राय लिने र अडियोको प्रमाणीकरणसमेत गर्न सकिनेछ’, भट्टराईले भने, ‘अनुसन्धानलाई गहिराइसम्म पुर्याउँदै वस्तुनिष्ठ र निष्पक्ष छानबिन गर्न छुट्टै विशेष छानबिन समिति गठन गरिएको छ ।’
भट्टराईकै संयोजकत्वमा आयोगका सदस्यहरू सम्मिलित छानबिन समिति गठन गरिएको उनले जानकारी दिए । समितिलाई अनुसन्धानका बाँकी काम सम्पन्न गरी आफ्नो रायसहितको प्रतिवेदन केन्द्रीय अनुशासन आयोगमा पेस गर्ने जिम्मेवारी दिइएको छ ।
बिहीबार बसेको आयोगको बैठकले समिति गठन गर्ने निर्णय गरेको भट्टराईले बताए । उनका अनुसार समितिले बिहीबार बिहानैदेखि काम सुरु गरेको छ ।
‘बैठकले अडियो सार्वजनिक गर्ने जनआस्था साप्ताहिकलाई भिडियो, अडियो वा अन्य कागजात छानबिन समितिलाई उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरेको छ’, भट्टराईले भने ।