© २०२३
बुटवल, २८ माघ ।
रुपन्देहीमा रगत अभाव देखिएको छ । विभिन्न रक्त समूहको रगत अभाव देखिएसंगै यहाँ क्रियाशिल रक्तदाता संघसंस्थाहरुले नियमितजसो रक्तदात कार्यक्रम गर्न थालेका छन् । शनिबारमात्र ४ स्थानमा रक्तदान गरिएको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताए ।
रगतको अत्यधिक माग भएसंँगै सबैजसो संघसंस्थाहरु रक्तदानमा लागेका छन् । नेपाल नियमित रक्तदाता समाज रुपन्देही, स्टार्ट १८ स्टार टिम र रोट्¥याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा नेपाल रेडक्रस सोसाईटी बुटवल ब्लड बैकमा साथै फर्साटिकरमा जिविका बहुउद्देश्यीय सहकारी संस्थाले रक्तदान गरेको उनले बताए ।
विरामीका आफन्तहरु रगत माग्न आउने तर दान गर्न नचाहने प्रवृत्ति परिवर्तन नआएसम्म समस्या समाधान नहुने उनले बताए । हरेक महिनाजसो रगतको अभाव भैरहेको उनले बताए । कुनै बेला पिआरपी रगतको अभाव देखिएकोमा अहिले फेरि होल ब्लडको माग रहेको उनले बताए । रुपन्देहीमा दैनिक ९० युनिट रगतको खपत भैरहेको उनले बताए ।
बिशेष गरी मृगौला खराब भएर डायलोसिस गर्ने, रक्त अल्पता र शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि रगतको माग आउने गरेको उनले बताए । शनिबार गरिएको रक्तदान कार्यक्रममा १ सय ६६ युनिट रगत संकलन भएको उनले बताए । रुपन्देहीमा ‘ओ’ पोजिटिभ रगत समूहबाहेक अन्य सबैजसो रक्त समूहको अभाव रहेको उनले बताए । रक्तदाताको हब रुपन्देहीमा स्वयंसेवी रक्तदाताहरुबाट ठुलो सहयोग भैरहेको उनले बताए । मंसिर महिनामा १ हजार ६ सय जनाले रक्तदान गरेको उनले बताए । नेपाल स्वयंसेवी रक्तदाता समाजमा हाल ७ सय जना रक्तदाता आवद्ध छन् ।
यता चौराह हस्पिटल प्रालिले दुर्घटनामा ज्यान गुमाएका आफ्नो कर्मचारी स्व.रवि गौतमको स्मृतिमा रक्तदान कार्यक्रम गरेको छ । स्वस्थ्य सेवासंगै सामाजिक उत्तरदायित्वमा अग्रसर रहेको हस्पिटलले रक्तदान कार्यक्रम गरेको अस्पतालका सूचना अधिकारी जनक कुँवरले बताए । शुक्रबार भएको रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन गरिएको उनले बताए ।