© 2026
परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेको एस मोडमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा ५ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु।प्र।०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
घाइतेहरूलाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये अछामको साँफेबगर नगरपालिका–५ की २६ वर्षीया मौसमी ओढको टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।
घाइतेहरूलाई अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय परासीका डीएसपी मदन थापाले बताए ।