Butwal Today

पवन मिष्ठान्नको बुटवलमा नयाँ शाखा

२६ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

बुटवल ।भैरहवाको पहिचानसँग जोडिएको पवन मिष्ठान्न भण्डारले बुटवलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मिठाइको स्वाद र गुणस्तरका कारण लोकप्रिय बनेको प्रतिष्ठानले आइतबारदेखि बुटवल–१०, कालिकानगरबाट व्यावसायिक कारोबार सुरु गरेको हो ।

करिब ३० लाख रूपैयाँ लगानीमा सञ्चालनमा ल्याइएको शाखाबाट मिठाइसँगै चिया–नास्ताका परिकारसमेत उपलब्ध गराइने सञ्चालक पवन हलुवाईले बताए । मिठाइ भैरहवामै उत्पादन गरी बुटवल ल्याइनेछ ।

यसअघि बुटवलको अमरपथमा सञ्चालनमा रहेको शाखा साँघुरो स्थान र व्यावसायिक अनुकूलताको अभावका कारण सात महिनाअघि बन्द गरिएको थियो । शाखा बन्द भएपछि स्थानीय ग्राहकबाट पुनः सञ्चालनका लागि माग आएपछि कालिकानगरमा नयाँ शाखा खोलिएको हलुवाईले बताए । ‘बुटवल क्षेत्रमा हाम्रो मिठाइको माग धेरै छ,’ उनले भने, ‘अब बुटवलका ग्राहकले पवनको मिठाइ लिन भैरहवा पुग्नुपर्ने बाध्यता हटेको छ ।’ वि.सं. २०२५ मा भैरहवामा सामान्य छाप्रोबाट सुरु भएको पवन मिष्ठान्न भण्डारले अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको छ ।

संस्थापक राधेश्याम हलुवाईले १७ वर्षको उमेरमा सुरु गरेको व्यवसायलाई पुस्तान्तरण गर्दै परिवारले निरन्तरता दिँदै आएको छ । जेठो छोरा पवनको नामबाट प्रतिष्ठानको नामकरण गरिएको थियो ।प्रतिष्ठानमा अहिले ३० प्रकारका मिठाइ उपलब्ध छन् । दैनिक एक हजार लिटरभन्दा बढी दुध र एक सय किलोभन्दा बढी खुवाको खपत हुने गरेको सञ्चालकले बताएका छन् ।

प्रतिष्ठानमा ८० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने दुध तथा अन्य कच्चा पदार्थको आपूर्तिमार्फत करिब ३०० किसान परिवार लाभान्वित हुँदै आएका छन् । पवन मिष्ठान्नको मुख्य उत्पादन पेडा ग्राहकबिच विशेष लोकप्रिय छ ।

सञ्चालक हलुवाईले आफ्नो प्रतिष्ठानको नाममा अन्य स्थानमा मिठाइ बिक्री गरी ग्राहकलाई झुक्याउने गरिएको गुनासो गर्दै भैरहवा र बुटवलबाहेक अन्यत्र आफ्नो आधिकारिक शाखा नरहेको स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?