Butwal Today

कसले पाउला व्यवसायीको विश्वास ?

२६ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

बुटवल । बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि सोमबार निर्वाचन हुँदैछ । संघको ७३औँ साधारण सभा तथा २६औँ अधिवेशनअन्तर्गत हुन लागेको निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी नरिश्वर शर्मा पौडेल र टंकप्रसाद गैरे नेतृत्वका दुई समूह प्रतिस्पर्धामा छन् ।

१ हजार ८ सयभन्दा बढी सदस्य रहेको संघको नेतृत्वका लागि दुवै समूहले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका छन् । निर्वाचनको प्रतिस्पर्धा नेतृत्व चयनमा मात्र सीमित नभई बुटवलको खस्किँदो व्यापारिक गतिविधि, उद्योगी–व्यवसायीका समस्या र निजी क्षेत्रको विकासका लागि संघले खेल्नुपर्ने भूमिकामा केन्द्रित भएको छ ।

पछिल्लो समय बजारमा देखिएको मन्दी, व्यवसाय सञ्चालनको बढ्दो लागत, लगानीको वातावरण, पूर्वाधार व्यवस्थापन र व्यवसायीले भोग्दै आएका नीतिगत समस्यालाई दुवै समूहले आफ्ना चुनावी प्रतिबद्धतामा समेटेका छन् । तर, ती समस्या समाधान गर्न संघलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा उम्मेदवारहरूले आ–आफ्ना योजना अघि सारेका छन् ।

पौडेल नेतृत्वको समूहले व्यवसायमैत्री वातावरण निर्माण, उद्यमशीलता प्रवद्र्धन र साना तथा मझौला व्यवसायको संरक्षणलाई प्राथमिकता दिएको छ । उक्त समूहले २० बुँदे प्रतिबद्धतामार्फत व्यवसाय दर्ता तथा नवीकरण प्रक्रियालाई सहज बनाउने, समस्यामा परेका उद्योग–व्यवसायको संरक्षणका लागि पहल गर्ने र नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने योजना सार्वजनिक गरेको छ ।

पौडेलले बुटवलको व्यापारिक गतिविधिलाई पुनः चलायमान बनाउनुखआफ्नो समूहको प्रमुख प्राथमिकता रहेको बताए । उनले भने, “सरकारसँग समन्वय गरेर व्यवसायीका समस्या समाधान गर्ने, लगानीमैत्री वातावरण बनाउने र उद्यमशीलता विस्तार गर्ने मेरो योजना छ ।”
उनको समूहले डिजिटल भुक्तानी र अनलाइन व्यापारको विस्तार, महिला उद्यमीको पहुँच वृद्धि, युवा उद्यमीलाई प्रोत्साहन तथा संघको कामकारबाहीमा पारदर्शिता कायम गर्ने विषयलाई पनि प्रतिबद्धतामा समेटेको छ ।

गैरे नेतृत्वको समूहले भने संघलाई व्यवसायीका समस्या उठाउने संस्थाका रूपमा मात्र नभई समाधानका लागि पहल गर्ने साझा मञ्चका रूपमा विकास गर्ने जनाएको छ । १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेको उक्त समूहले व्यवसायीको हकहित संरक्षण, लगानीको सुरक्षा, उद्योगमैत्री नीति र बुटवलको पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।

गैरेले बढ्दो व्यावसायिक लागत, बजारको सुस्तता, पूर्वाधारको अव्यवस्था र नीतिगत अस्पष्टताका कारण उद्योगी–व्यवसायी प्रभावित भएको बताए । यस्ता समस्या समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय र पैरवी गर्ने उनको भनाइ छ । गैरे समूहले बजार विस्तार, उत्पादन तथा निर्यात प्रवद्र्धन, आधुनिक व्यावसायिक प्रणालीको विकास र युवा तथा महिला उद्यमशीलतालाई प्राथमिकतामा राखेको छ । पर्यटनको विकासमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन पनि पहल गर्ने उक्त समूहको प्रतिबद्धता छ ।

निर्वाचनमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव र सहकोषाध्यक्ष पदका साथै १८ जना कार्यसमिति सदस्यका लागि प्रतिस्पर्धा हुँदैछ ।

पौडेल नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजु र वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा उम्मेदवार छन् । महासचिवमा वसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा प्रतीक पोखरेल, सचिवमा दीपकप्रसाद चापागाईँ तथा सहकोषाध्यक्षमा कमला पोखरेल पराजुलीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, गैरे नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विमलराज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ र वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी प्रतिस्पर्धामा छन् । महासचिवमा जमुना पौडेल, कोषाध्यक्षमा टीकाराम बन्जाडे, सचिवमा काशीराम शर्मा पौडेल र सहकोषाध्यक्षमा जाकिर हुसेन उम्मेदवार छन् ।

निर्वाचन नजिकिएसँगै दुवै समूहले सदस्यहरूसँग भेटघाट र छलफललाई तीव्रता दिएका छन् । उम्मेदवारहरू आफ्ना प्रतिबद्धता प्रस्तुत गर्दै मतदाताको समर्थन जुटाउन सक्रिय छन् । सदस्यहरूको विश्वास जित्न दुवै समूहले व्यावसायिक समस्या समाधान र संघको संस्थागत प्रभावकारितालाई मुख्य आधार बनाएका छन् ।

बुटवल उद्योग वाणिज्य संघको स्थापना २०१० सालमा ‘बुटवल व्यापार संघ’ का रूपमा भएको हो । संस्थाको औपचारिक विकासका लागि २००९ सालमै तदर्थ समिति गठन गरिएको थियो । संस्थापक अध्यक्ष पदमचन्द्र श्रेष्ठले २०१६ सालसम्म नेतृत्व गरेको यस संस्थाले स्थापनाकालदेखि नै व्यापारिक गतिविधि विस्तार र व्यवसायीको हकहित संरक्षणमा भूमिका निर्वाह गर्दै आएको छ ।

समयक्रममा व्यापारमा सीमित भूमिका विस्तार गर्दै संघ उद्योग, वाणिज्य तथा स्थानीय आर्थिक विकासका विषयमा समेत सक्रिय हुँदै आएको छ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाका रूपमा स्थापित संघको नयाँ नेतृत्वले सदस्यका तत्कालीन समस्या सम्बोधन गर्नुका साथै बुटवलको समग्र आर्थिक गतिविधि विस्तारमा कस्तो भूमिका खेल्छ भन्ने विषयलाई पनि यसपटकको निर्वाचनले महत्वपूर्ण बनाएको छ । सोमबार हुने निर्वाचनले आगामी कार्यकालका लागि संघको नेतृत्व चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?