© 2026
बुटवल । महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ। दशैं, तिहारलगायतका ठूला चाडपर्व नजिकिएसँगै सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने र सडक दुर्घटनाको जोखिमसमेत उच्च हुने भएकाले बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
चाडपर्वका बेला यात्रुलाई सुरक्षित, सहज, मर्यादित र व्यवस्थित यात्रा वातावरण उपलब्ध गराउने, ट्राफिक नियमको पालना गर्न सचेत गराउने तथा सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको सहायता कक्षको आज उद्घाटन गरिएको हो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक निशान थापाले यात्रुमाथि हुने ठगी तथा दुर्व्यवहार रोक्न र यात्रुका समस्या तथा गुनासो सुनुवाइ गर्न सहायता कक्ष स्थापना गरिएको बताए। उनले सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने कार्यलाई निरुत्साहित गर्नसमेत सहायता कक्षले भूमिका खेल्ने बताए।
विशेषगरी तीव्र गतिमा सवारी चलाउने, लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने तथा चालक अनुमतिपत्रबिना सवारी चलाउने जस्ता गतिविधि सडक दुर्घटनाका प्रमुख जोखिम रहेको उल्लेख गर्दै उनले यस्ता कार्य नियन्त्रणमा ध्यान दिइने बताए।
कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले चाडपर्वका समयमा यात्रुलाई सुरक्षित यात्रा गराउनु सबैको साझा जिम्मेवारी भएको बताए। उनले चालक र ट्राफिक प्रहरीबीच डरको सम्बन्धभन्दा पनि जिम्मेवारीपूर्ण सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यात्रुलाई कुनै पनि प्रकारको सास्ती नदिन चालक तथा सहचालकलाई आग्रह गरे।

त्यसैगरी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले यात्राका क्रममा भाडा, टिकट, ठगी, दुर्व्यवहार वा अन्य कुनै समस्या भए यात्रु सहायता कक्षमा सम्पर्क गर्न आग्रह गरे।
चाडपर्वका बेला यात्रुको आवागमन बढ्ने भएकाले सवारीसाधनको अवस्था, चालकको व्यवहार, यात्रुको सुरक्षा र ट्राफिक नियमको पालना सुनिश्चित गर्न सहायता कक्षले सहयोग पुग्ने अपेक्षा गरिएको छ।