Butwal Today

विद्युतीय सार्वजनिक सवारीको भाडादर समायोजन, डिलक्समा २० प्रतिशत थप शुल्क

२३ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

काठमान्डौँ ।

सरकारले अन्तरप्रदेशीय छोटो, मध्यम तथा लामो दूरीमा सञ्चालन हुने विद्युतीय सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको छ । यातायात व्यवस्था विभागले बिहीबार नयाँ भाडादर सार्वजनिक गरेको हो ।

विभागका अनुसार तराई तथा पहाडी सडकमा सञ्चालन हुने यात्रुवाहक र मालवाहक सवारीसाधनको प्रतिकिलोमिटर भाडादर परिमार्जन गरिएको छ ।

तराईको २५० किलोमिटरभन्दा बढी दूरीको लामो रुटमा पक्की तथा ग्राभेल सडकका लागि प्रतिकिलोमिटर प्रतिव्यक्ति २ रुपैयाँ ९३ पैसा भाडा कायम गरिएको छ । त्यस्तै, २५ देखि २५० किलोमिटरसम्मको दूरीमा प्रतिकिलोमिटर प्रतिव्यक्ति ३ रुपैयाँ भाडा तोकिएको छ । काठमाडौँ–पोखरा र पोखरा–नारायणगढ खण्डमा भने प्रतिकिलोमिटर प्रतिव्यक्ति ३ रुपैयाँ २४ पैसा कायम गरिएको विभागले जनाएको छ ।

डिलक्स र सुपर डिलक्समा २० प्रतिशत थप शुल्क

विभागका अनुसार यातायात व्यवस्था विभागअन्तर्गतका कार्यालयबाट डिलक्स सुविधा प्रमाणित गराएका सवारीसाधनले तोकिएको सामान्य भाडादरमा २० प्रतिशत थप शुल्क लिन सक्नेछन् । त्यस्तै, सुपर डिलक्स सुविधा प्रमाणित भएका सवारीसाधनले डिलक्सको भाडादरमा थप २० प्रतिशत रकम जोडेर लिन पाउनेछन् ।

विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई अनिवार्य छुट

विभागले जारी गरेको आचारसंहिताअनुसार विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई तोकिएको भाडादरमा अनिवार्य सहुलियत दिनुपर्नेछ । यस्तो सहुलियत निश्चित रुट, कोटा वा दिनमा सीमित नगरी सधैँ उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । सहुलियत लिन यात्रुले आफ्नो सक्कल परिचयपत्र देखाउनुपर्नेछ ।

त्यसैगरी, लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन बसमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने व्यवस्था गरिएको छ । चालक तथा सहचालकले परिचयपत्र वा तोकिएको पोसाक लगाउनुपर्ने पनि विभागले जनाएको छ ।

तोकिएको भन्दा बढी भाडा लिने सवारीसाधनमाथि कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ । बढी भाडा लिइएमा यात्रुले हेलो सरकारको टोल फ्री नम्बर ११११ वा ट्राफिक प्रहरीको नम्बर १०३ मा उजुरी गर्न सक्नेछन् ।

मालवाहक ट्रकको भाडादर पनि समायोजन

यात्रुवाहक सवारीसाधनसँगै मालवाहक ट्रकको भाडादर पनि समायोजन गरिएको छ । नयाँ व्यवस्थाअनुसार तराईमा प्रतिकिलोमिटर प्रतिटन ७ रुपैयाँ ७२ पैसा र पहाडी क्षेत्रमा १४ रुपैयाँ ७७ पैसा भाडा कायम गरिएको छ । १० टन क्षमतालाई आधार मानेर विभागले विभिन्न रुटको भाडादरसमेत निर्धारण गरेको छ ।

निर्धारित भाडादरअनुसार वीरगञ्ज–काठमाडौँ (पहाडी मार्ग) को ट्रक भाडा ३१ हजार ४४६ रुपैयाँ र भैरहवा–काठमाडौँको भाडा ३२ हजार १४१ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?