Butwal Today

कांग्रेसमा सबैको महत्त्व छ, असन्तुष्ट र पराजितलाई समेटेर अघि बढ्छौँ : गगन थापा

२३ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशन प्रक्रियामा सहभागी नभएका तथा निर्वाचनमा पराजित भएका नेताकार्यकर्तालाई समेटेर अघि बढ्ने बताएका छन् ।

महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुरा गर्दै थापाले कांग्रेसभित्र देखिएको राजनीतिक असन्तुष्टिलाई सम्बोधन गर्दै पार्टीका सबै नेताकार्यकर्तालाई समेटेर अघि बढ्ने बताएका हुन् ।

महाधिवेशन प्रक्रियामा सहभागी नभएको देउवा समूहलाई लक्षित गर्दै थापाले पार्टीका केही नेता तथा कार्यकर्ता प्रक्रियाबाहिर रहेको उल्लेख गरे । उनीहरूलाई पार्टीमा समेट्ने प्रयास गरिने उनको भनाइ थियो ।

‘पार्टीका केही साथीहरू हाम्रो प्रक्रियामा सहभागी नभएर अहिले बाहिर हुनुहुन्छ । उहाँहरूलाई समेट्ने कोसिस गर्छौं । कोही नयाँ पार्टी खोलेर जान्छु भन्नुहुन्छ भने त्यो उहाँहरूको छनोट हो । तर, कांग्रेसभित्रको असन्तुष्टि हो भने त्यसलाई सम्बोधन गर्ने कोसिस गर्छौं,’ थापाले भने ।

उनले महाधिवेशनमा प्रतिस्पर्धा गरेका र निर्वाचनमा पराजित भएका नेताहरूलाई पनि पार्टीमा उचित जिम्मेवारी दिएर अघि बढ्ने बताए । कांग्रेसका प्रत्येक व्यक्ति महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले कतिपयलाई केन्द्रीय समितिमा पुनः समेट्ने र कतिपयलाई अन्य जिम्मेवारी दिने बताए ।

‘सबैलाई समेटेर लिएर जाने हो,’ उनले भने ।

थापाले आफू पनि विगतमा पार्टीको निर्वाचनमा पराजित भएको अनुभव सुनाउँदै हारपछि पनि पार्टीमै रहेर काम गरेको बताए ।

‘म यही ठाउँमा आएर एकदमै कम मत ल्याएर प्रतिस्पर्धामा हारेको हुँ । फेरि पनि पार्टीमै बसेँ, काम गरेँ, दुःख गरेँ । अर्को पटक एकदमै धेरै मत ल्याएर निर्वाचित भएँ,’ उनले भने ।

उनले निर्वाचनमा हारजितलाई सामान्य रूपमा लिनुपर्ने बताए । निर्वाचनको परिणामकै आधारमा राजनीतिक निर्णय परिवर्तन गर्नु उचित नहुने उनको भनाइ थियो ।

‘निर्वाचनमा विजय–पराजयले राजनीतिक निर्णयहरू नै बदल्छ भन्ने कुरा मलाई पटक्कै लाग्दैन । त्यो त अराजनीतिक चरित्र भइहाल्यो,’ थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?