Butwal Today

मासु व्यवसायी बहुउद्देश्यीय सहकारीको नयाँ नेतृत्वमा विष्णुप्रसाद भण्डारी

२२ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

बुटवल ।

मासु व्यवसायी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रूपन्देहीको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । बुटवलमा सम्पन्न अधिवेशनबाट भण्डारी अध्यक्षमा निर्वाचित हुँदा गोपाल क्षेत्री उपाध्यक्ष, थानेश्वर सुवेदी सचिव, बिमा थापा सह–सचिव र श्रद्धा रिजाल कोषाध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै ऋषिराम राईभाट, कमला क्षेत्री, दामोदर पौडेल र लक्ष्मण प्रसाद श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन् । यसैगरी बाल प्रसाद श्रेष्ठ लेखा समिति संयोजक तथा गन कुमारी राना र दीपेन्द्र चौधरी लेखा समिति सदस्यमा निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता कृष्ण प्रसाद घिमिरेले बताए ।

साधारणसभामा अध्यक्ष, कोषाध्यक्ष तथा लेखा सुपरिवेक्षण समितिका प्रतिवेदनहरू प्रस्तुत भई छलफलपछि पारित भएका थिए । कार्यक्रममा संस्थाको आगामी कार्यदिशा, सहकारीको सुदृढीकरण तथा व्यवसायी र सदस्यको हितमा संस्थालाई थप प्रभावकारी बनाउने विषयमा समेत चर्चा गरिएको थियो । नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष नारायण घर्ती, मासु व्यवसायी संघ, नेपाल रूपन्देहीका निवर्तमान अध्यक्ष तथा प्रमुख अतिथि चुरामणी घिमिरे तथा मासु व्यवसायी संघ, नेपाल रूपन्देहीका अध्यक्ष विशाल थापाले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष भण्डारीले प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै संस्थालाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै सहकारीको उद्देश्यअनुरूप अगाडि बढाउने प्रतिबद्धता जनाए । उनले सदस्यहरूको विश्वासलाई कायम राख्दै संस्था र मासु व्यवसायी समुदायको हितमा परिणाममुखी काम गर्ने बताए । अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले संस्थाको आगामी कार्यकालमा सहकारीको संस्थागत विकाससँगै व्यवसायीहरूको व्यावसायिक हित र सदस्यहरूको आर्थिक उन्नतिमा केन्द्रित भएर काम गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?