Butwal Today

बर्दियामा स्क्रब टाइफसको जोखिम बढ्दो, तीन वर्षमा ६ हजारभन्दा बढी संक्रमित

२२ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

बर्दिया ।

बर्दियामा स्क्रब टाइफसको सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । चालू आर्थिक वर्षको सुरुआत महिनामै बर्दिया अस्पताल गुलरियामा स्वास्थ्य परीक्षण गराएका १ सय ९० जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ ।

बर्दिया अस्पताल गुलरियाका अनुसार चालू आर्थिक वर्ष २०८३/०८४ को असोज २० गतेसम्म अस्पतालमा उपचारका लागि आएका १ हजार ५ सय ६० जनाको स्क्रब टाइफस परीक्षण गरिएको थियो । तीमध्ये १सय ९० जनामा सङ्क्रमण देखिएको हो । अस्पतालका मेडिकल रेकर्डर एवम् सूचना अधिकारी केशव न्यौपानेका अनुसार स्क्रब टाइफसको लक्षण देखिएका बिरामीलाई आरडिटी किटमार्फत परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । छोटो अवधिमै परीक्षण गरिएका मध्ये उल्लेख्य सङ्ख्यामा सङ्क्रमण देखिनुले जिल्लामा स्क्रब टाइफसको जोखिम कायमै रहेको देखाएको उनले बताए ।

बर्दियामा पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा पनि स्क्रब टाइफसको सङ्क्रमण ठुलो सङ्ख्यामा देखिँदै आएको छ । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा २ हजार ५ सय १४ जना, २०८१/०८२ मा २ हजार १ सय ६३ जना र २०८०/०८१ मा १ हजार ५ सय ३ जनामा स्क्रब टाइफस देखिएको थियो । तीन आर्थिक वर्षमै जिल्लामा ६ हजार १ सय ८० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

स्क्रब टाइफस ‘ओरेन्सिया सुसुगामुसी’ जीवाणुबाट हुने संक्रामक रोग हो । यो रोग विशेष गरी मुसामा पाइने किर्नाजस्तो सानो सङ्क्रमित किरा (माइट) को टोकाइबाट मानिसमा सर्ने गर्छ । झाडी, वन जङ्गल तथा घाँसे क्षेत्रमा काम गर्ने वा लामो समय बस्ने मानिसमा यसको जोखिम बढी हुने चिकित्सकहरू बताउँछन् । बर्दिया अस्पतालका मेडिकल अधिकृत भरत भण्डारीका अनुसार स्क्रब टाइफस सङ्क्रमण भएपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, अत्यधिक पसिना आउने, आँखा रातो हुने, शरीरमा डाबर आउने तथा किराले टोकेको स्थानमा कालो वा रातो दाग देखिन सक्छ ।

उनले स्क्रब टाइफसबाट बच्न व्यक्तिगत सरसफाइमा ध्यान दिनुका साथै वन जङ्गल तथा झाडीमा काम गर्दा शरीर पूरै ढाकिने कपडा र जुत्ता प्रयोग गर्न सुझाव दिए । भुईँमा बस्नु पर्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म अग्लो स्थानमा सुत्ने, घर वरिपरि झारपात बढ्न नदिने र मुसाको नियन्त्रण गर्ने जस्ता उपाय अपनाउनुपर्ने उनको भनाइ छ ।

सरकारले स्क्रब टाइफसको परीक्षण निःशुल्क गर्ने व्यवस्था गरे पनि पर्याप्त र नियमित रूपमा परीक्षण किट उपलब्ध नहुँदा समस्या देखिएको छ । बर्दियामा आवश्यक मात्रामा आरडिटी किट उपलब्ध नहुँदा कतिपय बिरामीले निजी स्वास्थ्य संस्थामा शुल्क तिरेर परीक्षण गराउनुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

स्क्रब टाइफसको सङ्क्रमण बढिरहेको अवस्थामा परीक्षणका लागि आवश्यक किटको नियमित आपूर्ति नहुँदा विपन्न तथा ग्रामीण क्षेत्रका नागरिक थप प्रभावित हुन सक्ने देखिन्छ । स्वास्थ्य बिमा बोर्डले सार्वजनिक गरेको सेवाको सूचीमा स्क्रब टाइफस परीक्षण समावेश नभएकाले परीक्षणको खर्चसमेत बिरामीकै दायित्वमा पर्ने अवस्था रहेको छ ।

बर्दियामा वर्षेनी ठुलो सङ्ख्यामा स्क्रब टाइफसका बिरामी देखिँदै आए पनि यसको रोकथामका लागि जनचेतना, परीक्षणको सहज पहुँच र आवश्यक किटको नियमित उपलब्धतालाई प्रभावकारी बनाउनुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?