Butwal Today

किसानको साथी चमेरा हराउँदै

२१ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

पाल्पा ।

तानसेनको अमरनारायण फूलबारीमा दशकौँदेखि आश्रय लिँदै आएका चमेरा हराएपछि फूलबारीको पुरानो पहिचानसमेत गुम्दै गएको छ । करिब तीन दशकअघिसम्म फूलबारीका अग्ला रुखका हाँगामा झुन्डिएका चमेराका समूह देखिने गरे पनि अहिले त्यहाँ चमेरा देखिन छाडेका छन् ।

 

अमरनारायण मन्दिरको नित्यपूजाका क्रममा घण्टी बजेपछि साँझपख ठूलो समूहमा आहाराको खोजीमा उड्ने चमेरा तानसेनको आकर्षणसमेत बनेका थिए । फूलबारीमा रहेका विभिन्न प्रजातिका ठूला रुखमा बास बस्ने चमेरा हेर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको स्थानीय बताउँछन् । विद्यालयबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीका लागि समेत चमेरा आकर्षणको विषय हुने गरेको थियो ।

 

स्थानीयका अनुसार तानसेनबाट विसं २०४२ सालतिर चमेराको ठूलो समूह दुई स्थानमा सरेको थियो । केही चमेरा दमकडाका बर–पीपलका रुखमा र केही अर्गली क्षेत्रमा पुगेका थिए । ती क्षेत्रमा रहेका ठूला बर–पीपलका रुख घट्दै गएपछि चमेराको बासस्थान र आहारामा समस्या भएको स्थानीयको भनाइ छ । त्यसपछि ती स्थानबाट पनि क्रमशः चमेरा हराउँदै गएका हुन् ।

 

स्थानीय कमला कार्कीका अनुसार पहिले फूलबारीमा चमेरा हेर्न मानिसको भीड लाग्ने गर्दथ्यो । “विद्यार्थी र पर्यटक चमेरा हेर्न आउँथे । अहिले चमेरा नहुँदा फूलबारीको पुरानो आकर्षण हराएको छ,” उनले भने ।

 

तानसेनका पुराना पुस्ताका समाजसेवी सूर्यरत्न राजभण्डारीले चमेरा तानसेनको पहिचानसँगै जोडिएको बताए । उनका अनुसार विगतमा विदेशी पर्यटकले चमेराको तस्बिर खिचेर आफ्नो देशसम्म लैजाने गरेका थिए । “चमेरासँगै तानसेनको बजारको पहिचान पनि जोडिएको थियो,” उनले भने ।

 

बगनासकाली गाउँपालिका–पोखराथोकका कवि नेपालका अनुसार पहिले साँझपख गाउँमा हुलका हुल चमेरा आउने गर्थे । फलफूल पाक्ने समयमा चमेराले फलफूल खाने भएकाले किसानलाई त्यसबाट जोगाउनसमेत कठिन हुने गरेको उनले बताए । पछिल्लो समय विकास निर्माण, ठूला रुखको कटानी तथा बासस्थानमा आएको परिवर्तनसँगै चमेरा घट्दै गएको उनको भनाइ छ ।

 

कृषि प्राविधिकका अनुसार चमेराले फलफूलका बिउ एक स्थानबाट अर्को स्थानमा पु¥याउन तथा परागसेचनमा सहयोग गर्छ । केही प्रजातिले कीरा तथा लामखुट्टेलाई आहाराका रूपमा प्रयोग गर्ने भएकाले कृषि बालीमा लाग्ने कीरा नियन्त्रणमा समेत चमेराको भूमिका रहने बताइन्छ ।

 

पछिल्लो समय अग्ला तथा ठूला रुख घट्नु, बासस्थानको कमी हुनु र चमेरालाई मासु तथा अन्य प्रयोजनका लागि मार्ने क्रम बढ्नुले यसको सङ्ख्या घटेको स्थानीयको भनाइ छ । माथागढी गाउँपालिका–रुप्सेका डिलबहादुर नेपालीले एकपटकमा एउटा मात्र बच्चा जन्माउने चमेरा मानव गतिविधिबाट थप असुरक्षित बन्दै गएको बताए ।

 

पक्षी संरक्षणसम्बन्धी संस्थाका अनुसार नेपालमा चमेराका विभिन्न प्रजाति पाइन्छन् । तर पाल्पालगायतका क्षेत्रमा घट्दै गएको चमेराको सङ्ख्या र त्यसको पारिस्थितिक भूमिकाबारे थप अध्ययन तथा संरक्षण आवश्यक रहेको स्थानीय बताउँछन् । पुराना पुस्ताको ग्रामीण जीवन र कृषि प्रणालीसँग जोडिएको चमेरा संरक्षणका लागि बासस्थान र ठूला रुख जोगाउनुपर्ने उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?