© 2026
चन्द्रौटा। कपिलवस्तु नगरपालिकाले नगरवासीको स्वास्थ्य बिमा शुल्कमा ५० प्रतिशत सहयोग गर्ने भएको छ । नगरले चालु आर्थिक वर्षमा १२ हजारभन्दा बढी परिवारका लागि बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ । स्वास्थ्य बिमा बोर्डसँग सम्झौता गरेर कार्यक्रम अघि बढाइएको हो ।
नगरपालिकाका अनुसार ५ जनासम्मको परिवारले वार्षिक ३ हजार पाँच सय रुपैयाँ बिमा शुल्क तिर्नुपर्छ । त्यसको आधा अर्थात् १ हजार ७५० रुपैयाँ नगरपालिकाले व्यहोर्नेछ । बाँकी रकम परिवार स्वयमले तिर्नुपर्नेछ । पाँच जनाभन्दा बढी सदस्य भए थप शुल्क परिवारले नै तिर्नुपर्ने हुन्छ ।
नगर प्रमुख सुदीप पौडेलले बढीभन्दा बढी नगरवासीलाई बिमामा जोड्ने उद्देश्य रहेको बताए । उपचारमा हुने आर्थिक भार कम गर्न कार्यक्रम प्रभावकारी हुने उनले बताए । स्वास्थ्य बिमा बोर्ड, कपिलवस्तुका कार्यालय संयोजक वशिष्ठ तिवारीले नगरपालिकाको सहयोगले बिमामा सहभागिता बढ्ने बताए । विपन्न तथा न्यून आय भएका परिवारलाई यसबाट थप राहत पुग्ने उनको भनाइ छ ।