Butwal Today

डोजरले बढायो पहिरोको जोखिम

२१ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

पाल्पा । रैनादेवी छहरा गाउँपालिका–सत्यवतीकी देवकुमारी खनाललाई तानसेन पुग्न अहिले आफ्नै घरआँगनबाट मोटर गुड्ने सडक पर्याप्त छैन । घरनजिकै सडक भए पनि पहिरोका कारण बाटो अवरुद्ध भएपछि उनले रूपन्देहीको सालझण्डी हुँदै बुटवलबाट लामो बाटो घुमेर तानसेन पुग्नुप¥यो ।

चार दशकअघि स्थानीयको श्रमदानबाट सडकको रेखाङ्कन गरिएको थियो । त्यतिबेला भूगोल र वातावरणलाई ध्यान दिएर सडक निर्माण गरिएको स्थानीयको भनाइ छ । पछिल्लो समय भने सडक विस्तार तथा नयाँ सडक निर्माणमा मेसिनको प्रयोग बढेको छ । चुरे क्षेत्रको कमजोर भूगोलमा डोजर तथा अन्य मेसिनको प्रयोग गर्दा त्यसको कम्पनले जमिन कमजोर बनाउने र वर्षात्का समयमा पहिरोको जोखिम बढाउने गरेको स्थानीय बताउँछन् ।

यस वर्ष भदौमा सामान्य वर्षा भए पनि असोजको दोस्रो सातामा लगातार परेको वर्षाले पाल्पाका ग्रामीण सडकमा ठूलो क्षति पु¥याएको छ । दर्जनौँ स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा स्थानीयले घुमाउरो बाटो प्रयोग गर्नुपरेको छ ।
स्थानीय धर्मबहादुर कार्कीका अनुसार पहिले वर्षा निश्चित समयमा हुने भएकाले सडक तथा अन्य पूर्वाधारमा क्षति तुलनात्मक रूपमा कम हुन्थ्यो । पछिल्ला वर्षमा बेमौसमी र अत्यधिक वर्षा हुन थालेपछि मानवीय गतिविधिबाट कमजोर बनाइएको भूगोलमा क्षतिको मात्रा बढेको उनको भनाइ छ ।

बुटवल–पाल्पा सडकखण्डको जोखिमयुक्त सिद्धबाबा–दोभान क्षेत्रको विकल्पका रूपमा झुम्सादेखि रूपन्देहीको चरङ्गे जोड्ने सडक निर्माण गरिएको आठ वर्ष पुग्न लागे पनि सडकले अपेक्षित परिणाम दिन सकेको छैन । करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएको सडकको आसपासका क्षेत्रमा बाढी र पहिरोको समस्या देखिएको छ । सडक निर्माणका क्रममा सयौँ रुख काटिएका थिए । चुरे पहाडको कमजोर भूगोलमा वातावरणीय पक्षलाई पर्याप्त ध्यान नदिई मेसिन प्रयोग गरेर सडक निर्माण गर्दा यस क्षेत्रमा पर्ने करिब २० घर पहिरोको उच्च जोखिममा परेको स्थानीयको भनाइ छ ।

स्थानीय जमुना शारूले कमजोर भूगोलमा डोजरको प्रयोग गर्दा जमिन खलबलिएको र वर्षात्का समयमा माटो बग्ने क्रम बढेको बताइन् । “पहाड काट्दा तत्काल सडक त बन्यो तर वर्षा भएपछि त्यसको असर देखिन थालेको छ,” उनले भनिन् ।
वन क्षेत्र हुँदै तिनाउ गाउँपालिकाको कोलडाँडा र बैरीडाँडा जोड्ने सडकको अवस्था पनि उस्तै छ । स्थानीयको सहभागिता र स्थानीय सरकारको सहयोगमा डोजर प्रयोग गरी निर्माण गरिएको सडकले वर्षायाममा सुविधा दिनुको सट्टा सास्ती थपेको स्थानीय सिमबहादुर ठाडाको भनाइ छ ।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बेमौसमी वर्षा जलवायु परिवर्तनको एउटा परिणाम भएको बताए । उनका अनुसार जलवायु परिवर्तनमा मानवीय गतिविधिको ठूलो भूमिका हुन्छ । वन क्षेत्रमा वातावरणीय पक्षलाई बेवास्ता गर्दै जथाभाबी डोजर प्रयोग गरेर सडक निर्माण गरिँदा पहिरो र भूक्षयको समस्या बढेको उनको भनाइ छ ।

“जलवायु परिवर्तनलाई सहयोग गर्ने प्रमुख कारण मानवीय गतिविधि हुन्,” उनले भने, “वातावरणीय पक्षलाई ध्यान नदिई वन क्षेत्रमा जथाभाबी सडक खन्दा अहिले त्यसको परिणाम देखिएको हो ।” कमजोर चुरे क्षेत्रमा मात्रै नभई महाभारत पर्वत शृंखलामा समेत वातावरणीय पक्षलाई बेवास्ता गरेर सडक निर्माण गर्दा वर्षायाममा त्यसको असर देखिने गरेको छ । डोजरले पहाड काटेपछि निस्किएको माटोको व्यवस्थापन, पानीको निकास तथा भूक्षय नियन्त्रणका उपायमा पर्याप्त ध्यान नदिँदा पहिरोको जोखिम बढ्ने वातावरणविद्हरू बताउँछन् ।

पाल्पाका पुराना ग्रामीण सडक निर्माण गर्दा वातावरणीय पक्षलाई ध्यान दिइएको स्थानीयको अनुभव छ । ती सडक लामो समयसम्म बाढीपहिरोको जोखिममा परेनन् । तर स्थानीय तहको नयाँ संरचनापछि पुराना सडक चौडा बनाउने क्रममा डोजरको प्रयोग बढ्दा धेरै सडक पहिरोको चपेटामा परेको माथागढी गाउँपालिका–झडेवाका स्थानीय लालबहादुर आचार्यले बताए ।
उनका अनुसार विगतमा स्थानीय जनश्रम र भौगोलिक अवस्था हेरेर सडक बनाइन्थ्यो । पछिल्लो समय छिटो सडक बनाउने प्रतिस्पर्धामा वातावरणीय प्रभावलाई बेवास्ता गर्दा समस्या थपिएको हो ।

वातावरणविद् संयोग बस्नेतले जलवायु परिवर्तन विश्वकै प्रमुख समस्याका रूपमा देखिएको र त्यसको असर पहिरो, खडेरी तथा अतिवृष्टिका रूपमा देखिन थालेको बताए । सडक निर्माण गर्दा माटो बग्न नदिन वृक्षारोपण तथा जैविक संरक्षणमा ध्यान दिनुपर्ने भए पनि त्यस्तो अभ्यास न्यून रहेको उनको भनाइ छ ।

“सडक निर्माणपछि माटो बग्न नदिन वृक्षारोपण गर्ने काम प्रायः भएको देखिँदैन,” उनले भने, “स्थानीय वातावरण र भूगोलको संरक्षणबिना गरिने विकासले विपत्ति निम्त्याउने जोखिम हुन्छ ।”

नेपालमा २०५१ सालदेखि स्थानीय निकायमा विकासका लागि रकम पठाउने क्रम बढेसँगै ग्रामीण क्षेत्रमा मोटरबाटो विस्तार तीव्र भएको हो । २०७४ सालमा स्थानीय तहको नयाँ संरचनाअनुसार निर्वाचित सरकार आएपछि सडक निर्माणमा थप लगानी भयो । तर वातावरणीय पक्षलाई पर्याप्त ध्यान नदिई सडक तथा भौतिक पूर्वाधारमा लगानी गर्दा त्यसको असर अहिले देखिन थालेको पुरानो पुस्ताको अनुभव छ ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले अबको विकास वातावरणमैत्री हुनुपर्ने बताए । भूक्षय नियन्त्रण तथा वातावरणीय अनुकूलनका लागि वृक्षारोपणमा विशेष जोड दिनुपर्ने उनको भनाइ छ ।
“विकासका नाममा जथाभाबी गरिएका गतिविधिले प्राकृतिक विपत्ति निम्त्याएको छ,” उनले भने, “अहिले पनि सचेत नभए भावी पुस्ताले अझ ठूलो क्षति बेहोर्नुपर्नेछ ।”

विश्वले सन् २०१६ देखि दिगो विकासका १७ वटा लक्ष्य कार्यान्वयन गरिरहेको छ । तीमध्ये धेरै लक्ष्य वातावरण संरक्षण, वन व्यवस्थापन, मरुभूमीकरण तथा भूक्षय नियन्त्रण, जैविक विविधताको संरक्षण र स्थानीय पर्यावरणको दिगो उपयोगसँग सम्बन्धित छन् । गाउँबस्तीमा सडक पु¥याउने नाममा वनजंगल र वातावरणको ख्याल नगरी डोजर चलाउँदा अहिले भूक्षय र पहिरोको समस्या बढेको वातावरणविद्हरूको भनाइ छ ।

सन् १९८३ मा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले वातावरण र विकाससम्बन्धी विश्वस्तरीय आयोग गठन गरेको थियो । आयोगले सन् १९८७ मा ‘हाम्रो साझा भविष्य’ नामक प्रतिवेदन सार्वजनिक गरेपछि दिगो विकासको अवधारणाले औपचारिक रूप पाएको हो । वर्तमान पुस्ताको आवश्यकता पूरा गर्दा भविष्यका पुस्ताको आवश्यकता पूरा गर्ने क्षमतामा असर नपर्ने गरी गरिने विकासलाई दिगो विकास भनिन्छ ।

तर स्थानीय तहदेखि प्रदेश सरकारसम्मले निर्माण गरेका कतिपय सडकमा वातावरणीय प्रभाव मूल्याङ्कन तथा पूर्वसम्भाव्यता अध्ययनलाई पर्याप्त महत्त्व नदिँदा अहिले सडकसँगै बस्ती र खेतीयोग्य जमिनसमेत जोखिममा परेको छ । सडक निर्माणअघि विस्तृत अध्ययन, भूगोलको अवस्था, पानीको निकास, माटो व्यवस्थापन र वातावरणीय प्रभावको मूल्याङ्कन गर्ने तथा निर्माणपछि वृक्षारोपण र भूक्षय नियन्त्रणलाई अनिवार्य बनाउनेतर्फ अब ध्यान दिनुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?