© 2026
चन्द्रौटा । कपिलवस्तुमा एक शिक्षक रथमा चढेर बिदा भएका छन् । उनी लामो समयदेखि शिक्षण पेशाबाट अवकाश लिँदै विदा भए ।
शुक्रबार बिहानैदेखि विद्यालयको आँगनमा छुट्टै माहोल थियो । शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थितिमा थारू संस्कृति झल्किने बाजागाजा बजिरहेका थिए ।
वातावरण उत्सवमय देखिए पनि त्यसको केन्द्रमा शिक्षकको विदाई । ४ दशक बढी समय विद्यालयमा बिताएका शिक्षक दुर्गाप्रसाद थारूलाई बिदाई गरिएको विद्यालयले जनाएको छ । ६० वर्ष उमेर पूरा गरी अनिवार्य अवकाश पाएका थारूलाई गौतम बुद्ध माध्यमिक विद्यालयले औपचारिक कार्यक्रममै सीमित नराखी रथमा राखेर बिदाइ गरेको हो । आमा र श्रीमतीसहित रथमा राखिएका थारूलाई बाजागाजासहित गोरुसिङ्गे बजार परिक्रमा गराउँदै घरसम्म पु¥याइएको थियो ।
रथमा बसेका थारू विद्यालयबाट बिदा हुँदै गर्दा भावुक देखिएका थिए । दशकौँ लामो समय बिताएको कर्मस्थलबाट अन्तिमपटक निस्कँदै गर्दा उनका आँखामा शिक्षण यात्राका अनेक सम्झना झल्किएका उनी बताउँछन् । वि.सं. २०४३ भदौ ३१ गते यही विद्यालयबाट शिक्षण सेवा सुरु गरेका थारू २०४६ असोज २४ गते स्थायी दरबन्दीमा नियुक्त भएका थिए ।
त्यस यता उनले एउटै विद्यालयमा निरन्तर चार दशकभन्दा बढी सेवा गरेको उनले बताए । रथयात्रा सुरु गर्नुअघि थारूले आमासहित विद्यालय परिसरको सरस्वती मन्दिर र मुख्य प्रवेशद्वारमा साष्टाङ्ग दण्डवत् गरेका थिए । विद्यालयसँगको लामो सम्बन्धको अन्तिम क्षणमा उनले कर्मस्थलप्रति सम्मान प्रकट गरेका दृश्यले शिक्षक, विद्यार्थीलाई भावुक बनाएको स्थानीय सरस्वती थारुले बताइन् । बिदाइका क्रममा थारूले आफ्नो सेवाकालमा विद्यालयका लागि सक्दो योगदान गरेको बताउँदै विद्यालयले पनि आफूलाई धेरै कुरा दिएको बताए ।
आगामी दिनमा गौतम बुद्ध माध्यमिक विद्यालय अझ उचाइमा पुगेको समाचार सुन्न पाऊँ भन्ने शुभकामनासमेत उनले व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक शिशिरप्रसाद अर्यालले विद्यालयलाई वर्तमान अवस्थामा ल्याउन थारूको महत्वपूर्ण योगदान रहेको बताए ।
लामो समय एउटै विद्यालयमा रहेर शिक्षण सेवा गरेका थारूको योगदान विद्यालयले सधैँ स्मरण गर्ने उनको भनाइ छ ।