Butwal Today

सरकारले दसैँपछि ९ देशका लागि राजदूत नियुक्ति प्रक्रिया अघि बढाउने

१८ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

काठमान्डौँ ।

सरकारले रिक्त रहेका विभिन्न नौ देशका लागि दसैँपछि नयाँ राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढाउने भएको छ । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढिरहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोबहादुर क्षेत्रीका अनुसार राजदूत नियुक्तिको प्रक्रिया जारी छ । “दसैँपछि नै हुनसक्छ । तर अहिले यति मात्र भन्न सकिन्छ, राजदूत नियुक्तिको कार्य प्रक्रियामा रहेको छ,” उनले बताए ।

सरकारले यसअघि विज्ञ समूहबाट विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न १३ जनाको नाम सिफारिस गरिसकेको छ । अब बाँकी रहेका देशमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउन लागिएको हो ।

रुस, अष्ट्रेलिया, ओमान, स्पेन, बंगलादेश, ब्राजिल, म्यानमार, बहराइन र इजिप्टस्थित नेपाली दूतावासमा राजदूतको पद रिक्त रहेको मन्त्रालयले जनाएको छ ।

यीमध्ये रुस, अष्ट्रेलिया, ओमान र स्पेनस्थित नेपाली दूतावासमा अहिले राजदूत छैनन् । बंगलादेश, ब्राजिल, म्यानमार, बहराइन र इजिप्टमा रहेका राजदूतहरूको कार्यकाल सकिए पनि सरकारले अर्को व्यवस्था नभएसम्म उनीहरूलाई निरन्तरता दिएको थियो ।

कार्यकाल थप गरिएका राजदूतहरूमा बंगलादेशका घनश्याम भण्डारी, ब्राजिलका निर्मलराज काफ्ले, म्यानमारका हरिश्चन्द्र घिमिरे, बहराइनका तीर्थराज वाग्ले र इजिप्टका सुशील लम्साल छन् ।

यसअघि सरकारले उनीहरूलाई फिर्ता बोलाएर नयाँ राजदूत नियुक्तिका लागि कुमार खरेल, भृगु ढुंगेल, गणेश ढकाल, दिलिप पौडेल र विष्णु गौतमको नाम सिफारिस गरेको थियो । तर पछि वर्तमान राजदूतहरूको कार्यकाल नै थप गरिएको थियो । दसैँपछि नयाँ राजदूतको नाम सिफारिस भएपछि उनीहरूलाई फिर्ता बोलाइने तयारी छ ।

यसैबीच, सरकारले विज्ञतर्फबाट सिफारिस गरेका राजदूतका नाम संसदीय सुनुवाइ समितिमा पठाइसकेको छ । भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि पूर्वप्रधानसेनापति गौरव शमशेर जबराको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस गरिएको छ ।

अब संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सिफारिस भएका राजदूतहरूको नियुक्तिको बाटो खुल्नेछ। बाँकी देशका लागि भने दसैँपछि नयाँ नाम सिफारिस गर्ने तयारी सरकारको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?