© २०२३
बुटवल, २६ माघ ।
अवैधरुपमा भारतबाट ल्याउँदै गरेको यूरिया मल प्रहरीले नियन्त्रणमा लिएको छ । नवलपरासीको बर्दघाट नगरपालिका ४ टिसिएन चोकमा बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ट्रकसहित यूरिया मल नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वीरेन्द्र के.सी.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ७ ख ९२४३ नं. को ट्रकमा लुकाई छिपाई ल्याएको रु. ५ लाख १२ हजार ४०० बराबरको ४२७ बोरा युरिया मल, १४ हजार ४०० मूल्य बराबरको १२ बोरा डिएपी मल, समेत गरी जम्मा रु ५ लाख २६ हजार ८०० बराबरको अवैध मल बरामद गरेको हो । मल सहित नियन्त्रणमा लिइएको ट्रक तथा ट्रक चालक जिल्ला चितवन भरतपुर उपमहानगरपालिका १६ बस्ने बर्ष २४ को सन्दिप न्यौपाने समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको छ ।
उक्त ट्रकमा रुपन्देहीबाट धादिङ जिल्लाको धार्केमा ५२५ बोरा चोकर ढुवानी गर्ने भनी चोकरको बिल बनाई चोकर जम्मा ३९ बोरा लोड भएको र अन्य बिभिन्न प्रकारको ४३९ बोरा मल ट्रकमा रहेको हुंदा बिशेष सूचनाको आधारमा नियन्त्रणमा लिई अनुसन्धान कार्बाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले बताए ।