© २०२३
गुल्मी, २५ माघ ।
गुल्मी जिल्लामा राष्ट्रिय भूमि आयोग गुल्मीले एक सय ७२ जना सुकुम्बासीहरुलाई निस्सा प्रदान गरेको छ । भूमि आयोगले पहिलो र दोश्रो चरणमा मुसिकोट नगरपालिकामा एक सय १४ र रुरुक्षेत्र गाउँपालिकामा ५८ जना सुकुम्बासीहरुलाई लालपुर्जा बितरणका लागि निस्सा प्रदान गरेको हो । जिल्लाको चन्द्रकोट गाउँपालिकामा रहेका ६१ जना र मुसिकोट नगरपालिकामा बाँकी रहेका ४८ जना सुकुम्बासीहरुलाई पनि निस्सा बितरणको प्रकृयामा रहेको हुँदा माघ महिना भित्रमा निस्सा प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रिय भूमि आयोग गुल्मीका अध्यक्ष राममल्ल ठकुरीले बताए । कार्यक्रममा मुसिकोट नगरपालिका प्रमुख जीवन खरेल एवं रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली तथा स्थानीय जनप्रतिनिधिहरुको सहभागितामा सुकुम्बासी तथा लाभग्राहीहरुलाई निस्सा प्रदान गरिएको हो । निस्सा वितरण कार्यक्रममा मुसिकोट नगरपालिका प्रमुुख जिवलाल खरेल जीवनले नगरपालिका भित्र रहेका सबै भूमिबिहिन सुकुम्बासी एवं अव्यबस्थित दलित र अव्यवस्थित बसोवासीहरुलाई समान दृष्टिकोणले उचित लाभग्राहीहरुको पहिचान गरी निस्सा प्रदान गरिएको बताए ।
त्यसैगरी रुरुक्षेत्र गाउँपलिका अध्यक्ष यदु ज्ञवालीले लामो समयदेखि भूमीविहिन बनेका सुकुम्वासीहरुलाई भूमी आयोगले ठूलो राहत प्रदान गरेको बताएका थिए । लामो समयदेखि सुकुम्बासीको रुपमा जीवनयापन गरिरहेका मुसिकोट नगरपालिका ३ पेगाका डिल बहादुर घर्ती क्षेत्रीले आफुले सरकारबाट जग्गाको प्रमाण पाएकोमा निकै खुसी बनेको बताए । त्यस्तै मानबहादुर खड्का पनि सुकुम्बासीको रुपमा निस्सा प्राप्त भएपछि आफ्नो लामो समयदेखिको जग्गा पाउने सपना पूरा भएको प्रतिक्रिया दिए । राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य तिलाचन पाण्डेले जिल्लाका अन्य पालिकाहरुमा पनि यसैगरी आयोगले चाँडै नै लाभग्राहीहरुलाई निस्सा प्रदान गर्ने तयारीमा रहेको बताए । उनले आयोगले जिल्लामा दुई हजार एक सय ४७ जना भूमिहिन सुकुम्बासीहरुको लगत संकलन गरेकोे जानकारी गराएका थिए ।
आयोगको तथ्यांक अनुसार गुल्मीको रेसुंगा नगरपालिकामा सवैभन्दा बढी भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यब्स्थित बसोबासी रहेका छन् । रेसुंगा नगरपालिकाभित्र रहेका तीन सय ९९ मध्ये भूमिहिन दलित ४८, सुकुम्बासी ४४ र अव्यवस्थित बसोवासी तीन सय ७ जना रहेका छन् ।
भूमि आयोगका अनुसार मुसिकोट नगरपालिकामा दुई सय ३७, सत्यवति गाउँपालिकामा ६१, रुरुक्षेत्र गाउँपालिकामा एक सय ८५, चन्द्रकोट गाउँपालिकामा ६१, छत्रकोट गाउँपालिकामा एक सय ४९, मदाने गाउँपालिकामा एक सय १० र कालिगण्डकी गाउँपालिकामा २५ भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ ।
त्यसैगरी गुल्मीदरवार गाउँँपालिकामा ४६, धुर्कोटमा दुई सय ८६, इस्मामा दुई सय ३७, मालिकामा तीन सय ५१ भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासी रहेको आयोगले जनाएको छ । भूमि आयोगको तथ्यांक अनुसार गुल्मीमा भूमिहिन सुकुम्बासी दुई सय ३६, भूमिहिन दलित दुई सय ८५ र अव्यवस्थित बसोबासी एक हजार छ सय २६ जना रहेका छन् ।