Butwal Today

कतारका नेपाली श्रमिकका मुद्दा उठाउँदै प्रवास विभागद्वारा अर्थमन्त्रीलाई ज्ञापन पत्र 

१५ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

दोहा (कतार) ।

प्रवास नेपाली सम्पर्क विभाग, केन्द्रीय समिति कतारले कतारमा कार्यरत नेपाली श्रमिकको हकहित, सुरक्षा र अधिकारसँग सम्बन्धित विभिन्न माग समेटिएको ज्ञापन पत्र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बुझाएको छ । कतारमा आयोजित एसियाली पूर्वाधार लगानी बैङ्क (एआईआईबी) को ११औँ वार्षिक बैठकमा सहभागी हुन आएका नेपाल सरकारका अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई विभागले ज्ञापन पत्र बुझाएको हो ।

विभागका कार्यवाहक सभापति नियम भुजेल र महामन्त्री पुरुषोत्तम रिजालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा कतारमा नेपालीद्वारा नेपालीमाथि हुने ठगी तथा शोषण नियन्त्रणदेखि श्रमिकका श्रम तथा कानुनी समस्या समाधानसम्मका विषय उठाइएको छ ।

ज्ञापनपत्रमा भिसा तथा रोजगारीको प्रलोभनमा रकम असुल्ने, सेवा नदिने वा सम्पर्कविहीन हुनेजस्ता ठगी नियन्त्रणका लागि प्रभावकारी कानुनी संयन्त्र बनाउन र दोषीमाथि शीघ्र कारबाही गर्न माग गरिएको छ । साथै, आवश्यक प्रक्रिया पूरा नगरी हुने वैदेशिक प्रस्थान तथा महिला कामदारको सुरक्षाका लागि नेपालका अन्तर्राष्ट्रिय विमानस्थलमा प्रभावकारी निगरानी र जाँच प्रणाली सुदृढ गर्न आग्रह गरिएको छ ।

कतारमा नेपाली श्रमिकले भोग्दै आएका तलब नपाउने, करारसम्बन्धी विवाद, कम्पनी परिवर्तन, पासपोर्ट रोक्का तथा अन्य श्रम समस्यामा दूतावासले कतारी सम्बन्धित निकायसँग समन्वय गरी प्रभावकारी सहजीकरण गर्नुपर्ने विभागको माग छ ।

त्यस्तै, पासपोर्ट, यात्रा अनुमति पत्र, कागजात प्रमाणीकरण, प्रहरी रिपोर्ट, अधिकृत वारेसनामा, विवाह तथा जन्मसम्बन्धी प्रमाणपत्रलगायत कन्सुलर सेवा सहज बनाउन सेवा प्रक्रिया, आवश्यक कागजात, शुल्क र समयबारे स्पष्ट सूचना उपलब्ध गराउन तथा डिजिटल हेल्पडेस्क र विशेष सहायता डेस्कको व्यवस्था गर्न माग गरिएको छ । दूतावासका सेवा छिटो, सरल, पारदर्शी, जबाफदेही र सेवाग्राहीमैत्री बनाउनुपर्ने उल्लेख गर्दै विभागले सेवा शुल्कको डिजिटल भुक्तानीलाई थप व्यवस्थित गर्नसमेत आग्रह गरेको छ ।

गम्भीर दुर्घटना, दीर्घ रोग, कोमा, मृत्यु, जेल वा हिरासतजस्ता मानवीय सङ्कटमा परेका नेपालीलाई आवश्यक सहयोग तथा लामो समय अस्पतालमा उपचाररत नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकार, दूतावास र कतारका सम्बन्धित निकायबिच प्रभावकारी समन्वयका लागी आपत्कालीन तथा मानवीय सहायता समन्वय संयन्त्र स्थापना गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा गरिएको छ ।

विभागले कतारमा रहेका नेपालीलाई रेमिटेन्स पठाउने श्रमिकका रूपमा मात्र नभई सम्मानित नागरिकका रूपमा व्यवहार गर्दै उनीहरूका समस्या र गुनासो सम्बोधनका लागि प्रभावकारी गुनासो तथा सुझाव प्रणाली विकास गर्न सरकारसँग आग्रह गरेको छ । ज्ञापन पत्र राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयलाई समेत बोधार्थ पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?