© 2026
काठमान्डौँ ।
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित पाँच वटा विधेयक दफावार छलफलका लागि समितिमा पठाउने तथा पारित गर्ने कार्यसूची रहेको छ ।
संसद् सचिवालयका अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तीन वटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
जसमा ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ रहेका छन् ।
त्यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यसैगरी, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।