© 2026
रोल्पा ।
रोल्पा अस्पताल रेउघामा सञ्चालन भइरहेको पाँचदिने निःशुल्क अर्थोपेडिक, ओ.पि.डि. तथा शल्यक्रिया शिविरबाट दुई दिनमै ४९१ जना बिरामीले सेवा लिएका छन् । दुर्गम क्षेत्रका हाडजोर्नी तथा नशासम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा उपचारका लागि आउने बिरामीको संख्या उल्लेख्य रहेको आयोजकले जनाएको छ ।
रोल्पा अस्पताल रेउघा, रोल्पा नगरपालिका, नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँ र रोटरी क्लब अफ काठमाडौँ वेस्टको संयुक्त सहकार्यमा असोज १२ गतेदेखि शिविर सञ्चालन भइरहेको हो । शिविर असोज १६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
शिविरको पहिलो दिन १४४ जना महिला र ९७ जना पुरुष गरी जम्मा २४१ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । त्यसैगरी दोस्रो दिन १४८ जना महिला र १०२ जना पुरुष गरी २५० जना बिरामीले सेवा लिएका छन् । दोस्रो दिन उपचारका लागि आएका बिरामीमध्ये २० जनाको शल्यक्रिया गरिएको आयोजक संस्थाले जनाएको छ ।
रोल्पाका १० वटै स्थानीय तहका दुर्गम तथा ग्रामीण क्षेत्रबाट हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीलाई उपचारका लागि शिविरमा ल्याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने आर्थिक रूपमा विपन्न नागरिकले समेत विशेषज्ञ चिकित्सकबाट निःशुल्क परीक्षण तथा आवश्यक उपचार सेवा पाउन सकून् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।
शिविरमा परामर्श तथा उपचारका लागि कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन तथा टिम लिडर डा. सुजन मानसिंह, डा. सुनिल बदगायी, डा. अनिश ज्ञवाली, डा. समीर कार्की, डा. विजेन्द्र डंगोल, डा. समित लोहिया लगायतका चिकित्सक सहभागी छन् । स्वास्थ्यकर्मी तथा अन्य प्राविधिक जनशक्तिले समेत शिविरमा सेवा प्रदान गरिरहेका छन् ।