Butwal Today

‘चमेलीको पोइ’दर्शक माझ पुग्ने तयारीमा

१३ आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

बुटवल ।

निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘चमेलीको पोइ’ आगामी असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । दशैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलरसमेत सार्वजनिक गरिएको छ ।

चलचित्रको ट्रेलरमा मायाप्रेम, आसक्ति, दाम्पत्य जीवनका उतारचढाव, विश्वास, घात तथा मानवीय सम्बन्धका विभिन्न आयामलाई हास्यप्रधान शैलीमा प्रस्तुत गरिएको छ । ट्रेलर सार्वजनिक भएसँगै चलचित्रको कथावस्तुलाई लिएर दर्शकको चासोसमेत बढेको छ ।

चलचित्रमा सुरक्षा पन्त र मुकुन भुसाल मुख्य भूमिकामा छन् । उनीहरूसँगै चर्चित हास्य कलाकार नारायण त्रिपाठी, विल्सन विक्रम राई, रवीन्द्र झा, उमेश राई, खड्गबहादुर पुन (खबपु), अंशु महर्जन, रजनी गुरुङ, गणेश गौतम, प्रेमदेव गिरीलगायतका कलाकारको अभिनय रहेको छ ।

विशेषगरी नारायण त्रिपाठीको पुनरागमन चलचित्रको अर्को आकर्षणका रूपमा हेरिएको छ । उनी लामो समयपछि यही चलचित्रमार्फत ठूलो पर्दामा फर्किएका हुन् । त्रिपाठीले पनि चलचित्रमार्फत पुनः दर्शकमाझ आउन पाएकोमा आशावादी रहेको बताएका छन् ।

चलचित्रका निर्माता रामनारायण उपाध्यायले सामाजिक विषयवस्तुलाई आधार बनाएर चलचित्र निर्माण गरेको बताए । ‘चमेलीको पोइ’ आफ्नो पहिलो प्रयास भए पनि समय, परिस्थिति र बजारको अवस्थालाई बुझ्दै निरन्तर चलचित्र निर्माण गर्ने उनको भनाइ छ । कला, संस्कृति र पहिचानको प्रवद्र्धन तथा संरक्षणका लागि आफू र आफ्नो परिवार चलचित्र क्षेत्रमा सक्रिय भएको उनले बताए ।

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेका छन् । कार्यकारी निर्मातामा उदयविक्रम राणा र ऋतु मल्ल ठकुरी रहेका छन् । निर्देशक बोहराको कथामा शिवम अधिकारीले पटकथा तथा संवाद लेखनमा सहकार्य गरेका छन् ।

चलचित्रमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत, कविराज गहतराजको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ । यसअघि सार्वजनिक गरिएको ‘माया मान्छौ र’ गीतमा सुरक्षा पन्त र मुकुन भुसाललाई मुस्ताङका रमणीय दृश्यमा प्रेमिल जोडीका रूपमा प्रस्तुत गरिएको छ ।

निर्माणको सुरुवाती चरणदेखि नै कलाकारको विविधता, हास्यप्रधान कथावस्तु र सामाजिक तथा पारिवारिक विषयका कारण चर्चामा रहेको ‘चमेलीको पोइ’ अब दशैंको अवसरमा दर्शकमाझ पुग्ने तयारीमा छ । चलचित्र असोज १६ गते अर्थात् अक्टोबर २ देखि देशभर प्रदर्शनमा आउने चलचित्रका निर्माता सुनीता सापकोटाले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?