Butwal Today

पार्टीमै रहेर देश र जनताको सेवा गर्छु : पूर्वराष्ट्रपति भण्डारी

१३ आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

बुटवल ।

पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी सम्मानित वरिष्ठ नेता विद्यादेवी भण्डारीले अब आफू पार्टी, जनता र देशको सेवामा समर्पित हुने बताएकी छन् ।

एमालेले असोज ८ गते भण्डारीलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेपछि रुपन्देहीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले पार्टीको निर्णय स्वीकार गर्दै आगामी दिनमा पार्टीलाई थप ऊर्जा दिने बताइन् । उक्त निर्णयलाई एमाले केन्द्रीय कमिटीले समेत अनुमोदन गरेको थियो ।

‘अब यहाँभन्दा माथि जाने ठाउँ छैन । राष्ट्रपति भइसकेँ, अब कहाँ जाने र ? पदको हिसाबले माथि पुगेँ । अब जाने भनेको स्वर्ग हो,’ उनले भनिन्, ‘तर राष्ट्र र जनताका लागि काम गर्ने इच्छा अझै छ। त्यसैले यही पार्टीमा रहेर काम गर्छु ।’

बाल्यकालदेखि नै एमालेमा आबद्ध भएर सामाजिक सेवा तथा सामाजिक कुरीतिविरुद्धको अभियानमा सहभागी भएको स्मरण गर्दै भण्डारीले आफूले पार्टी, समाज र राष्ट्रका लागि निरन्तर काम गर्दै आएको बताइन् ।

विगतको वाम आन्दोलनका क्रममा आफूले विभिन्न समस्या भोगे पनि राजनीतिक आस्था परिवर्तन नगरेको उनले बताइन् । पार्टी नेतृत्वबाट हुने गल्ती र कमजोरीलाई स्वीकार गर्दै त्यसलाई सच्याएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

भण्डारीले विगतमा भएका पार्टी विभाजनले एमालेसहित समग्र वाम आन्दोलनमा असर परेको बताइन् । २०७४ सालको निर्वाचनमा वाम एकता र सहकार्यबाट राम्रो परिणाम आएको उल्लेख गर्दै उनले पछि एकता भङ्ग हुँदा पार्टी विभाजन र क्षति भएको स्मरण गराइन् ।

‘नेतृत्वको गल्तीको असर तलसम्म पर्छ । त्यसैले हामीभित्र रहेका कमी–कमजोरी सुधारेर अघि बढ्नुपर्छ,’ उनले भनिन् ।

नेपालमा वाम आन्दोलन बलियो भएको हेर्न नचाहने तत्त्वहरू पनि रहेको उल्लेख गर्दै भण्डारीले जनताको आस्था जबरजस्ती परिवर्तन गर्न नसकिने बताइन् । जनताको विश्वास जित्नुपर्नेमा उनले जोड दिइन् ।

भण्डारीले मूलधारका राजनीतिक दलहरू विभाजन हुन नहुने बताउँदै पार्टी विभाजनको असर समग्र राजनीतिक क्षेत्रमा पर्ने उल्लेख गरिन् ।

‘हामीले हाम्रो आवश्यकता के हो, जिल्लाको आवश्यकता के हो र राष्ट्रको आवश्यकता के हो भन्ने आधारमा एकता कायम गर्नुपर्छ,’ उनले भनिन् ।

एउटा निर्वाचनको परिणामलाई आधार बनाएर निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै उनले एमाले नै वाम आन्दोलन, देशभक्तिको आन्दोलन र सामाजिक न्यायको विकल्प भएको दाबी गरिन् ।

‘म यही पार्टीबाट हुर्किएर देशको राष्ट्रपतिसम्म भएँ । अब यही आन्दोलनलाई बलियो बनाउने मेरो चाहना हो,’ उनले भनिन् ।

राष्ट्रिय विषयमा पनि एकताबद्ध हुनुपर्नेमा जोड दिँदै भण्डारीले राष्ट्रिय स्वाभिमान जोगाउने र नेपाली जनताको जीवनस्तर सुधार गर्ने काममा केन्द्रित हुनुपर्ने बताइन् ।

‘हाम्रो राष्ट्रिय स्वाभिमान जोगाउने र नेपाली जनताको जीवनस्तर सुधार गर्ने हो । पार्टीमा लागेर गर्ने त्यही हो । पार्टीमा लागेर अरू के गर्ने हो ररु’ उनले भनिन् ।

उनले पार्टी जीवन परिवारभन्दा फराकिलो हुने उल्लेख गर्दै पार्टीमा पुस्ताबीचको ‘जेनेरेसन ग्याप’ हुन नदिई सबै पुस्तालाई जोडेर अघि बढाउनुपर्ने बताइन् ।

‘पार्टी जीवन पनि परिवारभन्दा फराकिलो हो । त्यसैले परिवारजस्तै पार्टीमा पनि जेनेरेसन ग्याप राख्नु हुँदैन,’ उनले भनिन् ।

सामाजिक शिक्षाको मर्म पनि यही रहेको बताउँदै उनले शान्तिपूर्ण परिवर्तनका लागि लामो यात्रा गर्नुपर्ने र त्यसका लागि निरन्तर अघि बढ्नुपर्ने धारणा राखिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?