Butwal Today

बुटवल टुडे अनलाइनको सम्पादकमा छवि पाण्डे

१३ आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

बुटवल । बुटवल टुडे दैनिकका सल्लाहकार सम्पादक छवि पाण्डे बुटवल टुडे अनलाइनको सम्पादक नियुक्त भएका छन् ।

बुटवल टुडे व्यवस्थापन समितिको निर्णयअनुसार पाण्डेलाई अनलाइन सम्पादकको जिम्मेवारी दिइएको हो । लामो समयदेखि पत्रकारितामा सक्रिय पाण्डेले अब बुटवल टुडे अनलाइनको सम्पादकीय नेतृत्व सम्हाल्ने छन् ।

पाण्डे तीन दशकभन्दा लामो समयदेखि बुटवलमा रहेर पत्रकारिता गर्दै आएका छन् । उनले करिब १० वर्ष बुटवलबाट प्रकाशित जनसंघर्ष राष्ट्रिय दैनिकको सम्पादकका रूपमा काम गरिसकेका छन् । त्यस क्रममा उनले समाचार सम्पादन तथा सम्पादकीय नेतृत्वको अनुभव हासिल गरेका थिए । पाण्डेले तीन दशकदेखि गोरखापत्र राष्ट्रिय दैनिकको संवाददाताका रूपमा समेत काम गर्दै आएका छन् ।

स्थानीयदेखि राष्ट्रिय तहसम्मका विभिन्न विषयमा समाचार सम्प्रेषण गर्दै आएका पाण्डेसँग मुद्रित सञ्चारमाध्यमसँगै डिजिटल पत्रकारिताको अनुभवसमेत छ ।

पाण्डेको पत्रकारिता यात्रा भने बुटवलबाट प्रकाशित चौतारी दैनिकबाट सुरु भएको हो । उनले २०५० सालदेखि पत्रकारिता सुरु गरेका थिए । त्यसयता निरन्तर पत्रकारितामा सक्रिय रहँदै उनले समाचार लेखन, सम्पादन तथा सम्पादकीय व्यवस्थापनमा लामो अनुभव हासिल गरेका छन् ।

बुटवल टुडे दैनिकमा सल्लाहकार सम्पादकका रूपमा रहेका पाण्डेलाई अनलाइनको सम्पादकीय जिम्मेवारीसमेत दिइएसँगै बुटवल टुडेका डिजिटल सामग्रीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राखिएको व्यवस्थापनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?