© 2026
काठमान्डौँ ।
विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा गरिएको गिरफ्तारी राज्य संयन्त्रको दुरुपयोग भएको आरोप लगाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपा सांसद भरत गिरीले सरकारले राज्य आतङ्क सिर्जना गरेको आरोप लगाए ।
सांसद गिरीले पूर्वप्रधानन्यायाधीशजस्तो सम्मानित पदमा बसेका व्यक्तिलाई कानुनी प्रक्रिया मिचेर गरिएको गिरफ्तारीले मुलुकमा विधिको शासनको उपहास भएको बताए ।
‘सरकारले पूर्वप्रधानन्यायाधीश जबरालाई जसरी मध्यरातमा घरबाटै अपहरण शैलीमा पक्राउ गर्यो, यो राज्य आतङ्कको बर्बर नमुना हो । यस्तो शैलीले लोकतन्त्र र मानव अधिकारको मर्ममाथि प्रहार गरेको छ,’ उनले भने ।
गिरीले आफूहरू कानुनको शासन र विधिको शासनको पक्षमा रहेको बताउँदै सरकारले कानुनको नाममा ‘प्रतिशोध’को राजनीति गरिरहेको आरोप लगा ।
‘हामी कानुन मान्छौँ, तर कानुनको आडमा गरिने डार्क राजनीति हामीलाई स्वीकार्य छैन । राज्यले शक्ति प्रयोग गर्दा पारदर्शिता अपनाउनुपर्छ । तर, यो सरकारले पटक–पटक निरङ्कुश र स्वेच्छाचारी शैली अपनाइरहेको छ,’ उनले भने ।
सरकार गठन भएदेखि नै संवैधानिक अंगका प्रमुख, पूर्वप्रधानमन्त्री तथा पूर्वपदाधिकारीहरूलाई लक्षित गरी यस्ता घटना दोहोरिरहेको गिरीको दाबी छ ।
‘कहिले पूर्वप्रधानमन्त्री, कहिले पूर्वपदाधिकारी त कहिले पूर्वप्रधानन्यायाधीशलाई राति सुतिरहेको बेला उठाउने र हतकडी लगाउने काम सरकारको नियमित कार्यतालिका जस्तै भएको छ। के यो लोकतान्त्रिक सरकारको काम हो ?’ उनले प्रश्न गरे ।