Butwal Today

 गुल्मीमा पहिरोको जोखिम बढेपछि २५० जनालाई सुरक्षित स्थानमा सारियो

१० आश्विन २०८३, शनिबार
अ
अ+
अ-

गुल्मी । 

गुल्मीमा पहिरोको जोखिम बढेपछि २५० जना व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारिएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ भुल्केमा आज दिउँसो करिब ३ः३० बजे बार्जिङ–सल्यार सामुदायिक वन माथिबाट पहिरो खस्दा सल्लाका रुखहरू समेत बगेर आएको थियो ।

पहिरोका कारण उक्त क्षेत्रका ४० देखि ४५ घरहरू जोखिममा परेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रकोटबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा प्रहरी टोली तत्कालै घटनास्थल पुगेको थियो ।

स्थानीय र प्रहरीको संयुक्त टोलीद्वारा पहिरोको जोखिममा रहेका उक्त गाउँका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको छ । विस्थापितहरूलाई उदय माध्यमिक विद्यालयको छात्रावास तथा आफन्तको घरमा बस्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भिमकिरण बोगटीले जानकारी गराएका छन् ।

उक्त सामुदायिक वनमा एक एक गर्दै सल्लाका रुखहरू ढल्दै गएको र पहिरोको जोखिम कायमै रहेकोले प्रभावित क्षेत्र वरपर रहेका बासिन्दालाई प्रहरीले सुरक्षित स्थानमा बस्न र सतर्कता अपनाउन आग्रह गरेको छ ।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा सारेर आवश्यक व्यवस्थापन मिलाइएको बताएका छन् । पहिरोका कारण बस्तीमा थप क्षति हुन सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ । दिनदेखि लगातार पानी परिरहेको हुँदा जिल्लाको जनजीवन समेत प्रभावित बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?