Butwal Today

बाढीको त्रास बढ्दै : कुन–कुन जिल्लामा कस्तो छ जोखिम ?

९ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

काठमान्डौँ ।

बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूमा जलसतह बढ्ने तथा विभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ ।

शुक्रबार बिहान जारी गरिएको विशेष बाढी पूर्वानुमान बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कन्काई, कमला र यी नदीका सहायक नदीहरूमा जलसतह सतर्कता तह नजिक पुगेको छ ।

आज बिहानको मापनअनुसार पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव भने सतर्कता तहभन्दा तलै रहेको छ । आज र भोलि देशका धेरैजसो प्रमुख नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार आज सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशीलगायत कोशी बेसिनका नदीमा जलसतह उल्लेख्य रूपमा बढ्नेछ । यसैगरी नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, महाकाली, बागमती र पूर्वी राप्तीमा पनि आज पानीको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ ।

तिनाउ, बाणगंगा, पश्चिम राप्ती र बबईमा भने आज सामान्य वृद्धि हुने र भोलि असोज १० गते उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ ।

साना नदीमा आउन सक्ने आकस्मिक बाढीको जोखिमलाई हेर्दा आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्ला बढी प्रभावित हुने देखिएको छ । महाशाखाले जारी गरेको बुलेटिनमा गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर र आसपासका जिल्लाबाट बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको उच्च जोखिम रहेको उल्लेख गरेको छ ।

यसबाहेक पूर्वको ताप्लेजुङदेखि पश्चिमको बैतडीसम्मका अन्य दर्जनौँ जिल्लाबाट बहने साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।

भोलि आकस्मिक बाढीको उच्च जोखिम अझै धेरै जिल्लामा फैलिने पूर्वानुमान गरिएको छ। नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर आसपासका नदीमा बाढीको उच्च जोखिम रहने महाशाखाको पूर्वानुमान छ ।

पर्सि असोज ११ गते पनि सातै प्रदेश भएर बहने केही साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सावधानी अपनाउन आवश्यक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?