© 2026
सल्यान ।
सल्यानका दशवटै स्थानीय तहमा नेपाली काँग्रेसको नयाँ नेतृत्व चयन भएको छ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत जिल्लाका सबै स्थानीय तहमा पालिका सभापति चयन भएपछि काँग्रेसले नयाँ नेतृत्व पाएको हो ।
जिल्लाका १० स्थानीय तहमध्ये सात पालिकामा सभापति सर्वसम्मत चयन भएका छन् भने तीन पालिकामा निर्वाचन मार्फत नेतृत्व चयन गरिएको छ ।
शारदा नगरपालिकाको सभापतिमा हपिस भण्डारी, बागचौर नगरपालिकामा भीमप्रकाश भण्डारी र छत्रेश्वरी गाउँपालिकाको सभापतिमा मेघराज भण्डारी मतदान प्रक्रिया मार्फत निर्वाचित भएका हुन् ।
त्यस्तै बनगाड कुपिण्डे नगरपालिकामा दिपेन्द्र बिष्ट, दार्मा गाउँपालिकामा विशाल सिंह, कुमाख गाउँपालिकामा इन्द्रराज शर्मा, कालिमाटी गाउँपालिकामा थमन केसी, सिद्ध कुमाख गाउँपालिकामा भरत चलाउने, कपुरकोट गाउँपालिकामा कुबेर खत्री र त्रिवेणी गाउँपालिकामा मेघराज रोका सर्वसम्मत सभापति चयन भएका छन् ।
पालिका सभापति चयनसँगै जिल्लामा काँग्रेसको स्थानीय तहको नयाँ नेतृत्व संरचना पूरा भएको हो । नयाँ नेतृत्वले आगामी महाधिवेशनका लागि संगठनलाई थप व्यवस्थित बनाउने तथा स्थानीय तहमा पार्टीको गतिविधिलाई प्रभावकारी बनाउने जिम्मेवारी पाएको छ ।