© 2026
बुटवल ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावनासँगै रूपन्देहीमा बाढी, डुबान र कटानबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि जिल्ला विपत् व्यवस्थापन समितिले २४ घण्टे विपत् संयन्त्र सक्रिय बनाउने निर्णय गरेको छ ।
समितिको बिहीबार जिल्ला प्रशासन कार्यालय भैरहवामा बसेको बैठकले जिल्लाका नौ क्षेत्रलाई उच्च जोखिममा राख्दै जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा सार्नेदेखि सडक अवरोध तत्काल हटाउने, सञ्चार तथा विद्युत् सेवा नियमित राख्ने र सुरक्षा निकायको खोज तथा उद्धार टोली तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।
मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनमा असोज ९ देखि ११ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न भू–भागमा मेघगर्जन, चट्याङ र भारी वर्षाको सम्भावना औँल्याएपछि जिल्ला विपत् व्यवस्थापन समितिले पूर्वतयारीलाई तीव्र बनाएको हो ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र २४ सै घण्टा सञ्चालनमा रहनेछ । स्थानीय तह र वडा कार्यालयलाई समेत आफ्ना आपतकालीन संयन्त्र सक्रिय राख्न तथा जोखिमयुक्त बस्तीमा आवश्यक तयारी गर्न निर्देशन दिइएको छ ।
समितिले तिनाउ, दानव र रोहिणी नदी आसपासका क्षेत्रलाई बढी जोखिमयुक्त मानेको छ । बुटवलस्थित तिनाउ नदी क्षेत्रदेखि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र मायादेवी गाउँपालिकाको दक्षिणतर्फका नदी आसपासका बस्ती जोखिममा रहेका छन् । त्यस्तै तिनाउ नदी करिडोर आसपासका बजार तथा बस्ती, दानव नदी आसपासका शुद्धोधन, गैडहवा र मायादेवी गाउँपालिका तथा दक्षिणतर्फका क्षेत्रलाई जोखिमयुक्त मानिएको छ ।
रोहिणी नदी आसपासका तटीय क्षेत्र तथा सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, देवदह र सैनामैना नगरपालिकाका खोला तथा नदी आसपासका सम्भावित डुबान र कटान क्षेत्रलाई पनि उच्च जोखिममा राखिएको छ ।
मर्चवार, मझगाँवा र दशगजा आसपासका क्षेत्र, कञ्चन खोला तथा नदी आसपासका सम्भावित कटान र डुबान क्षेत्र तथा पूर्व–पश्चिम राजमार्ग र अन्य सडकखण्डमा समेत बाढी तथा कटानबाट अवरोध हुन सक्ने भन्दै विशेष सतर्कता अपनाउन भनिएको छ ।
भारी वर्षाका कारण जोखिम बढेमा स्थानीय तह तथा वडा कार्यालयले जोखिमयुक्त बस्तीका नागरिकलाई विद्यालय, पक्की भवन वा अन्य सुरक्षित स्थानमा अस्थायी रूपमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउनेछन् । वडा तहमा उद्धारका आवश्यक सामग्री तयारी अवस्थामा राख्नसमेत भनिएको छ ।
भारी वर्षाको अवधिमा जोखिमयुक्त सडकखण्डमा रात्रिकालीन तथा अत्यावश्यकबाहेकका यातायात सञ्चालनमा रोक लगाउने व्यवस्था मिलाइने भएको छ । असोज ९ देखि ११ गतेसम्म लामो दूरीको यात्रा नगर्न र अत्यावश्यकबाहेकका यात्रा नगर्न सम्बन्धित पक्षलाई अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
सडक डिभिजन कार्यालय, हेभी इक्युमेन्ट डिभिजन कार्यालय बुटवल र बुटवल–गोरुसिङ्गे सडक आयोजनाले समन्वय गरी राजमार्ग तथा सडकमा बाढी, पहिरो, नदीजन्य पदार्थ वा माटोका कारण अवरोध आए तत्काल हटाउन आवश्यक उपकरणसहित तयारी अवस्थामा रहनेछन् ।
विपत्का बेला मोबाइल तथा अन्य सञ्चार सेवा अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सुरक्षा निकायका वायरलेस सेटलगायत सञ्चार उपकरण पूर्ण चार्ज अवस्थामा राख्न निर्देशन दिइएको छ । विद्युत् अवरुद्ध भएमा जेनेरेटर तथा इन्भर्टरबाट सञ्चार प्रणाली सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।
गाउँबस्तीबाट वडा कार्यालयसम्म सूचना पु¥याउन प्रत्येक टोलमा स्थानीय स्वयंसेवक वा युवा क्लबका सदस्यलाई सूचनादूतका रूपमा परिचालन गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन तथा सुरक्षा निकायका मुख्य केन्द्रमा वैकल्पिक रेडियो फ्रिक्वेन्सीको व्यवस्था गरिनेछ । नेपाल टेलिकम तथा नेपाल विद्युत् प्राधिकरणले सेवा अवरुद्ध हुन सक्ने सम्भावित स्थानको पहिचान गरी तत्काल सेवा सञ्चालन गर्ने पूर्वतयारी गर्नेछन् ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले खोज तथा उद्धारका लागि आवश्यक औजारसहित कोर रेस्पोन्स टिम तयारी अवस्थामा राख्नेछन् । मुख्य बाढी तथा डुबान प्रभावित हुन सक्ने क्षेत्र आसपास आवश्यक सामग्रीसहित सुरक्षाकर्मी परिचालन गरिनेछ ।
स्वास्थ्यकर्मी तथा अस्पताललाई आकस्मिक औषधि, सलाइन, एन्टिबायोटिक तथा प्राथमिक उपचार सामग्री पर्याप्त मौज्दात राख्न र एम्बुलेन्सलाई इन्धनसहित तयारी अवस्थामा राख्न भनिएको छ ।
नेपाल रेडक्रस तथा गैरसरकारी संस्थालाई त्रिपाल, कम्बल, भाँडाकुँडा र पानी शुद्धीकरणका सामग्रीलगायत गैरखाद्य राहत सामग्रीको मौज्दात अद्यावधिक गरी स्वयंसेवक परिचालनका लागि तयारी अवस्थामा रहन भनिएको छ ।
नदी तथा खोलाको बहाव बढ्न सक्ने भएकाले स्थानीय तहले माइकिङ तथा अन्य सूचना संयन्त्रमार्फत नदी किनार र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई समयमै सतर्क गराउनेछन् । खाद्यान्न तथा इन्धनको आपूर्ति र भण्डारण नियमित राख्न स्थानीय तहले आवश्यक व्यवस्था मिलाउने तथा मौसमको अवस्था हेरी विद्यालय बन्द गर्नुपर्ने भएमा सम्बन्धित स्थानीय तहले आवश्यक निर्णय लिन सक्ने बैठकले जनाएको छ ।
सञ्चारमाध्यमले समेत आधिकारिक मौसम पूर्वानुमान, पूर्वसूचना र सुरक्षात्मक उपायबारे नियमित जानकारी प्रवाह गरी अफवाह नियन्त्रणमा सहयोग गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी अर्यालले विपद् आउनुअघि गरिएको तयारी र निकायबीचको प्रभावकारी समन्वयले मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिने भएकाले निर्णय तत्काल कार्यान्वयनमा लैजान सम्बन्धित सबै निकायलाई निर्देशन दिइएको बताए ।