© २०२३
बुटवल, २५ माघ ।
विद्यालय पोशाकको अभाव ब्यहोरेका सुनवलका एक विद्यालयका एक सय विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउनले नवलपरासीस्थित जनज्योति प्राथमिक बिद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको हो । सुनवल वडा नं ७ का वडाअध्यक्ष नारायण प्रसाद आचार्य, क्लबका अध्यक्ष भरत राना, क्लबका सचिव बिष्णु प्रसाद भण्डारीले विद्यालयका प्राचार्य राधिका अर्यालमार्फत मंगलबार एक सय निम्न वर्गका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेका हुन । वडाअध्यक्ष नारायण प्रसाद आचार्यले नाम अनुसार नै सामाजिक कार्यमा रोटरी अगाडी रहेको भन्दै आगामी दिनमा समेत शिक्षा, स्वस्थ्य, सरसफाई र समाजमा सचेतना जगाउने काममा लाग्न सुझाव दिए । सरकारबाट गर्नुपर्ने काममा नीजि क्षेत्रबाट योगदान दिएको भन्दै उनले सबै क्षेत्रबाट सामाजिक क्षेत्रमा योगदान जरुरी रहेको बताए ।
क्लबका अध्यक्ष भरत रानाले विश्वबाट नै पोलियो उन्मुलनमा योगदान दिन सफल भएको रोटरी नेपालमा पनि धेरै काममा हातेमालो गर्दै आएको बताए । कार्यक्रमका संयोजक टिकाराम पन्थीले विगतबाट नै क्लबको वार्षिक कार्ययोजना अनुसार गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय कपडा वितरण गर्दै आएको बताए ।
कार्यक्रममा क्लबका पुर्वअध्यक्ष रबिलाल पोख्रेल, राधिका अर्याल, उपाध्यक्ष धर्म दत्त ज्ञवाली, प्रकाश पौडेल, भानु केसी, नारायण तिवारी, प्रेमा केसी, लक्ष्मी अर्याल विष्टले क्लबका सदस्यहरुको थोरै थोरै रकमबाट उदाहरणीय काम गर्न सफल भएको बताए ।