© 2026
चन्द्रौटा । यतिबेला नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनको देशव्यापीरुपमा तयारी भइरहेको छ । सोही अन्र्तगत स्थानीय तहका अधिवेशनको महोल पनि तात्तिएको छ । यसैबीच कपिलवस्तुको शिवराज नगरपालिकामा समेत नगर स्तरीय समितिको अधिवेशन असोज ८ गते हुने तयारी छ । हालसम्म ४ जना नगर सभापतिको लागि नाम चर्चामा रहेको छ । वर्तमान नगर सभापति मधु पोख्रेल, नगर सचिव विष्णु पोख्रेल, राजु खराल र मोहन केसी सम्भावित आकांक्षीका रूपमा चर्चामा थिए ।
स्रोतका अनुसार जसमध्ये उनीहरु बीच सहमति गराउन गत बुधबार खरेन्द्रपुरस्थित देउराली रिसोर्टमा बैठक बसी सहमति गराउने प्रयास गरिएको थियो । नयाँ नेतृत्वमा सहमति कायम गर्न ९ सदस्यीय सहमति समिति समेत गठन गरिएको थियो । उक्त समितिले पटक–पटक छलफल तथा वार्ता गरे पनि साझा सहमति जुटाउन नसकेको स्रोतको दावी छ । नगर समितिको नेतृत्व चयनका लागि सहमति नजुटेपछि अन्ततः निर्वाचनमा जाने अवस्था सिर्जना भएको जनाइएको छ ।
नगर सचिव विष्णु पोख्रेलले सामाजिक सञ्जालमार्फत नगर सभापतिका लागि आफ्नो दाबी सार्वजनिक गरेपछि शिवराज कांग्रेसभित्र आगामी नेतृत्वको विषय थप चर्चामा आएको हो । वर्तमान नगर सभापति मधु पोख्रेलले पनि नेतृत्वमा निरन्तरता दिने तयारी गरेको चर्चा छ । यस्तै राजु खरालको नाम पनि सभापतिको आकांक्षीका रूपमा चर्चामा छ । खराल यसअघि पनि नगर सभापति पदमा उम्मेदवार बनेका थिए । उनी लामो समयदेखि सञ्चार जगतमा कार्य गरेका एक सञ्चारकर्मी पनि हुन् । मोहन केसी भने निर्माण व्यवसायसँगै राजनीतिमा सक्रिय पात्रका रुपमा हेरिएका छन् ।
चारै जनाको नाम चर्चामा आएपछि शिवराज कांग्रेसमा आगामी नगर नेतृत्वका लागि प्रतिस्पर्धा रोचक बनेको छ । यद्यपि उम्मेदवारीको औपचारिक घोषणा र नेतृत्वका लागि हुने सहमतिको विषय भने अझै टुंगिएको छैन् । पटक–पटक बैठक तथा छलफल गरी नेतृत्व चयनमा सहमति खोजिए पनि विभिन्न पक्षबीच सहमति कायम हुन सकेन । लामो समयसम्म सहमतिको प्रयास गरिए पनि निष्कर्ष ननिस्किए पछि अब नगर समितिको नेतृत्व निर्वाचनमार्फत चयन हुने देखिन्छ । केन्द्रीय महाधिवेशन नजिकिँदै जाँदा स्थानीय तहका नेता तथा कार्यकर्ताबीच नेतृत्व चयनलाई लिएर छलफल र भेटघाट बढेका छन् ।