Butwal Today

ढुवानी सहज हुँदा पनि तरकारीको भाउ आकाशियो

७ आश्विन २०८३, बुधबार
अ+
अ-
बुटवल ।  बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा बढेको तरकारी तथा दैनिक उपभोग्य वस्तुको मूल्य यातायात सेवा सहज भएपछि पनि घट्न सकेको छैन । काठमाडौँ उपत्यकाको बजारमा सडक खुलेपछि समेत अधिकांश तरकारीको मूल्य उच्च रहेको तथ्यांकले देखाएपछि यसको असर लुम्बिनी प्रदेशका उपभोक्तामा पनि परेको छ ।
गत भदौमा अविरल वर्षा र बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौँसँग जोडिएको आपूर्ति शृंखला प्रभावित भएको थियो । धादिङको कृष्ण भीरलगायतका स्थानमा सडक कटान भएपछि उपत्यका भित्रीने सवारी साधन रोकिँदा तरकारी तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको थियो ।
त्यसबेला ढुवानीमा आएको समस्यालाई कारण देखाउँदै बजारमा तरकारीको मूल्य बढेको थियो ।तर, सडक खुलेर ढुवानी सहज भएको लामो समय बितिसक्दा पनि तरकारीको मूल्यमा अपेक्षित कमी आउन सकेको छैन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको भदौ १६ र असोज ६ गतेको मूल्य विवरण तुलना गर्दा केही तरकारीको मूल्य बाटो बन्द भएको समयभन्दा पनि अहिले बढी देखिएको हो ।
भदौ १६ मा प्रतिकिलो १३० रूपैयाँ रहेको ब्रोकाउली असोज ६ मा ३२५ रूपैयाँ पुगेको छ । यसमा १५० प्रतिशतभन्दा बढी वृद्धि भएको छ । घिरौँलाको मूल्य १६ रूपैयाँ २५ पैसाबाट बढेर ३५ रूपैयाँ पुगेको छ भने लाम्चो भन्टाको मूल्य १६ रूपैयाँ ८८ पैसाबाट ३५ रूपैयाँ पुगेको छ । त्यस्तै, रायोको सागको मूल्य ५१ रूपैयाँ ४३ पैसाबाट बढेर १०० रूपैयाँ पुगेको छ । सेतो मूला, तितो करेला, भिण्डी र हरियो लसुनको मूल्यमा समेत उल्लेख्य वृद्धि भएको छ ।
काठमाडौँको बजारमा देखिएको यस्तो मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव लुम्बिनी प्रदेशका बजारमा समेत पर्न सक्ने व्यवसायी तथा उपभोक्ता अधिकारकर्मी बताउँछन् । विशेषगरी काठमाडौँ तथा अन्य ठूला बजारमा मूल्य बढ्दा त्यसको प्रभाव बुटवल, भैरहवा, नेपालगन्ज, दाङलगायतका बजारमा समेत पर्ने गरेको छ । उपभोक्ता अधिकारकर्मीहरूले सडक तथा ढुवानी सहज भइसकेपछि पनि मूल्य वृद्धि भइरहनुको कारण खोज्नुपर्ने बताएका छन् ।
उनीहरूका अनुसार उत्पादन स्थलदेखि थोक तथा खुद्रा बजारसम्मको मूल्य अन्तर, बिचौलियाको भूमिका र कृत्रिम अभाव सिर्जना भए–नभएको विषयमा सम्बन्धित निकायले अनुगमन गर्न आवश्यक छ । यद्यपि, सबै कृषि उपजको मूल्य बढेको भने छैन । भदौ १६ मा प्रतिकिलो ४५० रूपैयाँ रहेको जिरीको साग असोज ६ मा १२५ रूपैयाँमा झरेको छ । रुख टमाटर २७५ बाट १२५ रूपैयाँ, अमला १७५ बाट ९० रूपैयाँ र चुकुन्दर १२० बाट ६५ रूपैयाँमा झरेको तथ्यांक छ । नेपाली तथा मालभोग केराको मूल्य पनि घटेको छ ।
यसले सडक तथा ढुवानीलाई मात्र मूल्यवृद्धिको कारण मान्न नसकिने देखाउँछ । उत्पादन, माग–आपूर्ति, थोक बजारको कारोबार र बिचौलियाको मार्जिनलगायतका कारणले पनि बजार मूल्य प्रभावित हुने भएकाले लुम्बिनीका बजारमा समेत यसको प्रभावबारे नियमित अनुगमन आवश्यक देखिएको छ । लुम्बिनी प्रदेशका मुख्य बजारमा तरकारीको मूल्य निर्धारण र आपूर्ति प्रणाली व्यवस्थित हुन नसक्दा किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने अवस्था दोहोरिने गरेको छ ।
त्यसैले प्रदेशका स्थानीय तह र वाणिज्य तथा उपभोक्ता हितसम्बन्धी निकायले उत्पादन स्थलदेखि खुद्रा बजारसम्मको मूल्य शृंखलाको अनुगमन गर्नुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?