Butwal Today

नेपालगन्ज धम्बोझीको सडक फोर लेन बन्दै

६ आश्विन २०८३, मंगलवार
अ+
अ-

बाँके। 
नेपालगन्जको धम्बोझी चोकदेखि नन्दनी मिलसम्मको सडकखण्ड फोर लेनमा स्तरोन्नति हुने भएको छ । नेपालगन्ज–गुलरिया सडकखण्डको महत्वपूर्ण मानिएको करिब १९ सय ५० मिटर सडक स्तरोन्नतिका लागि हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जले टेण्डर आह्वान गरेको हो ।
सडक विभागअन्तर्गत हुलाकी राजमार्ग निर्देशनालय, हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्ज, बाँकेले सडक स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरेको हो । लामो समयदेखि जीर्ण अवस्थामा रहेको धम्बोझी–नन्दनी मिल सडकखण्ड स्तरोन्नति भएपछि नेपालगन्जको मुख्य सहरी क्षेत्रबाट गुलरिया हुँदै बर्दियातर्फ जाने सडक थप व्यवस्थित हुने भएको छ ।

कार्यालयले प्रकाशित गरेको सूचनाअनुसार बोलपत्रका लागि बिड सेक्युरिटी रकम १ करोड ११ लाख ७० हजार रुपैयाँ तोकिएको छ । बोलपत्रमा सहभागी हुने निर्माण व्यवसायीको औसत वार्षिक कारोबार कम्तीमा ३८ करोड ७० लाख रुपैयाँ हुनुपर्नेछ । त्यस्तै, समान प्रकृतिको काम गरेको अनुभवको मूल्य कम्तीमा २३ करोड ३० लाख रुपैयाँ बराबरको हुनुपर्ने सूचनामा उल्लेख छ ।

मुख्य कार्यअन्तर्गत अक्स्फाल्ट कंक्रेट (डीसीएम) उत्पादन क्षमता प्रतिवर्ष ३ हजार १३४ घनमिटर तोकिएको छ । बोलपत्र दस्तावेज खरिद गर्ने अन्तिम मिति २०८३ असोज २६ गते कार्यालय समयसम्म रहेको छ । बोलपत्र २०८३ असोज २७ गते दिउँसो १२ बजेसम्म हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जमा बुझाउनुपर्नेछ भने सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ । हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका कार्यालय प्रमुख लिला बहादुर भडारीले धम्बोझी–नन्दनी मिल सडकखण्डलाई व्यवस्थित र स्तरीय बनाउन टेण्डर प्रक्रिया अघि बढाइएको बताए । उनका अनुसार सडक स्तरोन्नतिपछि यस क्षेत्रमा लामो समयदेखि देखिँदै आएको सडकको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

“धम्बोझी चोकदेखि नन्दनी मिलसम्मको सडक स्तरोन्नतिका लागि टेण्डर आह्वान गरिसकेका छौँ । अब निर्धारित प्रक्रियाबाट निर्माण व्यवसायी छनोट गरी काम अघि बढाउने तयारीमा छौँ,” भडारीले भने  उनका अनुसार सडक स्तरोन्नतिका लागि आवश्यक सडक सीमासम्बन्धी विषयलाई समेत कार्यालयले प्राथमिकतामा राखेको छ । सडक क्षेत्रभित्र पर्ने संरचना तथा अवरोध हटाउने विषयमा सम्बन्धित पक्षसँग समन्वय भइरहेको उनले बताए ।

धम्बोझी–नन्दनी मिल सडकखण्ड लामो समयदेखि जीर्ण अवस्थामा रहँदै आएको थियो । नेपालगन्जबाट बर्दियाको सदरमुकाम गुलरिया हुँदै पूर्वतर्फ जाने मुख्य सडकको महत्वपूर्ण खण्ड भए पनि धम्बोझीदेखि नन्दनी मिलसम्मको सडक अपेक्षित रूपमा विस्तार तथा स्तरोन्नति हुन सकेको थिएन । यसैबीच, नन्दनी मिलदेखि बर्दियाको सदरमुकाम गुलरियासम्मको सडक भने यसअघि नै स्तरोन्नतिसहित चार लेनको बनिसकेको छ ।

नन्दनी मिलदेखि गुलरियासम्मको सडक चार लेनमा विस्तार भइसके पनि नेपालगन्जतर्फ धम्बोझीदेखि नन्दनी मिलसम्मको खण्ड जीर्ण रहँदा सडकको स्तरोन्नतिमा असमानता देखिँदै आएको थियो । सडक स्तरोन्नतिका लागि कार्यालयले यसअघि सडक क्षेत्रमा रहेका अतिक्रमण तथा अवरोध हटाउन सूचना जारी गरेको थियो । त्यसपछि अधिकांश स्थानीयवासीले सडक क्षेत्रमा रहेका अवरोध तथा संरचना स्वस्फुर्त रूपमा हटाएका थिए ।

सडक सीमामा पर्ने नेपाल राष्ट्र बैंकको संरचनासम्बन्धी विषयमा पनि टेण्डर प्रक्रिया कार्यान्वयनमा आउने समयसम्म आवश्यक अवरोध हटाउने प्रतिबद्धता प्राप्त भएको जनाइएको छ । धम्बोझी–नन्दनी मिल सडकखण्ड चार लेनमा स्तरोन्नति भएपछि नेपालगन्जको धम्बोझी क्षेत्रदेखि गुलरिया हुँदै बर्दियातर्फ जाने सडक सञ्जाल थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । यसले सहरी क्षेत्रमा बढ्दो सवारी चाप व्यवस्थापन गर्न तथा नेपालगन्ज–गुलरिया आवागमनलाई सहज बनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?