Butwal Today

‘भोटेकोशी बाढी प्रभावित बालबालिकाको पढाइ रोकिँदैन’

५ आश्विन २०८३, सोमबार
अ+
अ-

काठमाडौँ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सरकारले तत्काल अस्थायी सिकाइ केन्द्रदेखि दीर्घकालीन पुनर्निर्माणसम्मका योजना अघि बढाएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले बाढीबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण हुनुअघि अस्थायी सिकाइ केन्द्र, टोल शिक्षा तथा आवश्यकताअनुसार आवासीय व्यवस्थामार्फत पठनपाठन सञ्चालन गरिने जानकारी दिए ।

उनले बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा सुनिश्चित गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले निजी क्षेत्रसमेतको साझेदारीमा ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’अघि बढाएको बताए ।

“कुनै पनि बालबालिका सिकाइबाट वञ्चित हुने अवस्था आउन दिइने छैन,” मन्त्री पोखरेलले भने ।

विपद्पछिको आवश्यकता मूल्याङ्कन (पिडीएनए) प्रतिवेदनका आधारमा क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण योजना तयार गरी कार्यान्वयन गरिने उहाँले बताए । तत्कालका लागि स्थानीय तहसँग समन्वय गरी अस्थायी सिकाइ केन्द्र तथा आवश्यक आवासीय सुविधा सञ्चालनमा सहयोग गरिने छ ।

होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श दिइरहेको र उनीहरूको सिकाइ निरन्तरताका लागि व्यवस्था मिलाइएको छ ।

प्राविधिक शिक्षामा सुधार गरिने

मन्त्री पोखरेलले प्राविधिक शिक्षामा अभिभावक तथा विद्यार्थीको चासो न्यून हुँदा कतिपय शिक्षालयमा तोकिएको सिटअनुसार विद्यार्थी भर्ना हुन नसकेको बताए । प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्न नीतिगत तथा कानुनी सुधार अघि बढाइने उनले बताए ।

विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि कक्षा ५ सम्म निरन्तर मूल्याङ्कन प्रणाली लागू गरिएको, विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलानको तयारी भइरहेको र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सम्बन्धी कानुन संशोधनको प्रक्रिया अघि बढाइएको मन्त्री पोखरेलले जानकारी दिए ।

शिक्षा विधेयक र विद्यालय सुधारमा जोड

शिक्षा विधेयक तयारीका लागि सातै प्रदेशमा नीति संवाद सञ्चालन गरी सरोकारवालाबाट सुझाव सङ्कलन गरिएको मन्त्री पोखरेलले बताए । प्राप्त सुझावका आधारमा विद्यालय शिक्षाका दीर्घकालीन समस्या समाधान गर्न शिक्षा ऐन जारी गर्ने तयारी भइरहेको छ ।

चालु आर्थिक वर्षमा विद्यालयको समग्र अवस्था म्यापिङ गरी त्यसका आधारमा विद्यालय पूर्वाधार निर्माण तथा शिक्षक दरबन्दी मिलान गरिने सरकारले जनाएको छ ।

मन्त्री पोखरेलले स्थायी शिक्षक पदपूर्ति संघीय सरकारको तथा करार नियुक्ति, सरुवा र दरबन्दी मिलानलगायत शिक्षक व्यवस्थापन स्थानीय तहको जिम्मेवारीमा रहेको स्पष्ट पारे ।

शिक्षक र कर्मचारीको पारिश्रमिक बढाइयो

सरकारले प्रारम्भिक बालविकास शिक्षक, विद्यालय सहायक कर्मचारी र विद्यालय सहयोगी कर्मचारीको पारिश्रमिकमा थप रु। ५ हजारका दरले वृद्धि गरेको मन्त्री पोखरेलले जानकारी दिए ।

शिक्षकका माग राज्यको आर्थिक क्षमताअनुसार क्रमशः सम्बोधन गर्दै जाने उनले बताए ।

एन्फा निलम्बन फुकुवाका लागि पहल

मन्त्री पोखरेलले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निलम्बन फुकुवाका लागि नेपाल सरकारले पहल गरिरहेको बताए ।

फिफाले २४ जुन २०२६ मा एन्फालाई अर्को सूचना नभएसम्म निलम्बन गरेको उल्लेख गर्दै उहाँले निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेको जानकारी दिए ।

त्यस्तै, नेपाल–चीन मैत्रीपूर्ण खेलका क्रममा घाइते भई थाइल्याण्डमा उपचाररत आशिष राईलाई राष्ट्रिय खेलकुद परिषद्को स्वीकृत बजेटको सीमाभित्र रहेर उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको पनि मन्त्री पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?