Butwal Today

नवलपुरका कृषकलाई करिब ५ करोड अनुदान वितरण गरिँदै

५ आश्विन २०८३, सोमबार
अ+
अ-

नवलपुर (नवलपरासी) । कृषि विकास कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले करिब रु पाँच करोड अनुदान वितरण गर्नेगरी कृषकबाट प्रस्ताव आह्वान गरेको छ ।

कार्यालयले विभिन्न १० शीर्षकमा जिल्लाका कृषकलाई अनुदान वितरण गर्ने तयारी गरेको जनाएको छ । कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत राजेश्वर सिलवालका अनुसार आर्थिक वर्ष २०८३र८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार रु चार करोड ७७ लाख ५० हजार बराबरको अनुदान वितरण गर्न लागिएको हो ।

अनुदानका लागि जिल्लाभित्रका कृषक, कृषि फर्म, कृषि कम्पनी, कृषक समूह तथा कृषि सहकारी संस्थाले असोज १३ गतेसम्म प्रस्ताव पेस गर्न सक्ने सिलवालले बताए ।

कार्यालयले ९५ हेक्टर क्षेत्रफलमा समुदायस्तरमा प्रशोधनयोग्यरखायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रमका लागि रु एक करोड २३ लाख ५० हजार अनुदान वितरण गर्ने भएको छ । फलफूल बगैँचा सुदृढीकरण तथा क्षेत्रफल विस्तार कार्यक्रमका लागि रु ३५ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, जिल्लाको ५० हेक्टर क्षेत्रफलमा खाद्यान्न बाली उत्पादन प्रवर्द्धन कार्यक्रमका लागि रु ५० लाख, १४० हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन प्रवर्द्धनका लागि रु एक करोड ४० लाख, तेलहन तथा दलहन बाली प्रवर्द्धन कार्यक्रमका लागि रु ५० लाख, ६ हेक्टर क्षेत्रफलमा आत्मनिर्भरताका लागि बीउ उत्पादन प्रवर्द्धन कार्यक्रमका लागि रु नौ लाख तथा लोकमार्ग तथा करिडोर केन्द्रित कृषि उत्पादन एवं प्रवर्द्धन कार्यक्रमका लागि रु २० लाख विनियोजन गरिएको सिलवालले बताए ।

रैथाने तथा स्थानीय बाली विकास कार्यक्रमका लागि रु १५ लाख, निर्यातजन्य कृषि वस्तु प्रवर्द्धन कार्यक्रमका लागि रु २० लाख र प्राङ्गारिक कृषि प्रवर्द्धन ९सङ्घीय सशर्त० कार्यक्रमका लागि रु १५ लाख अनुदान दिइने गरी प्रस्ताव आह्वान गरिएको उनले बताए ।

कार्यालयका अनुसार प्राङ्गारिक कृषि प्रवर्द्धन ९सङ्घीय सशर्त० कार्यक्रममा ५० देखि ८५ प्रतिशत तथा आत्मनिर्भरताका लागि बीउ उत्पादन प्रवर्द्धन कार्यक्रममा ५० देखि ७५ प्रतिशतसम्म अनुदान वितरण गरिनेछ । अन्य आठ शीर्षकमा भने ५० देखि ९० प्रतिशतसम्म अनुदान वितरण गरिने सिलवालले जानकारी दिए ।

अनुदान वितरणका लागि कार्यालयले मापदण्ड तथा कार्यविधि तयार पारेको जनाएको छ । सोही मापदण्ड र कार्यविधिको परिधिभित्र रहेर अनुदान वितरण गरिने सिलवालले बताए ।

अनुदानका लागि प्रस्ताव पेस गर्दा तोकिएको ढाँचामा प्रस्ताव फारम भर्नुपर्नेछ । कृषि फर्म, कम्पनी, कृषक समूह वा कृषि सहकारी संस्थाको हकमा दर्ता प्रमाणपत्र, पानको प्रतिलिपि, नवीकरण प्रमाणपत्र तथा अघिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

कृषक समूह वा कृषि सहकारी संस्थाको हकमा कार्यक्रममा आवेदन पेस गर्नेसम्बन्धी निर्णयको प्रतिलिपि, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए मापदण्डमा उल्लेख भएअनुसारको समयावधि भएको जग्गा करारनामा सम्झौताको प्रतिलिपि आवश्यक पर्नेछ ।

त्यस्तै, सम्बन्धित स्थानीय तहको कृषि शाखा वा कार्यक्रम सञ्चालन हुने स्थानको वडा कार्यालयको सिफारिस पत्रसमेत पेस गर्नुपर्ने वरिष्ठ कृषि विकास अधिकृत सिलवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?