© 2026
भैरहवा ।
रुपन्देहीमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको ठुलो परिमाणको भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । साथै सशस्त्र प्रहरीले छुट्टाछुट्टै कारबाहीमा १० लाख १५ हजार ६ सय रुपैयाँ बराबरको किराना तथा औषधीजन्य सामान, ई–रिक्सा र स्कुटर बरामद गरेको छ ।
सिद्धार्थनगर नगरपालिका–१ स्थित पिपलबोट चेकपोस्टमा शनिवार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५३ डी जे २६७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा हेल्मेटमा लुकाएर ल्याइएको भारतीय रुपैयाँसहित भारतको उत्तर प्रदेश महाराजगन्ज जिल्ला नौतनवाका २६ वर्षीय विशाल यादव पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय डण्डा रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त चेकपोस्ट टोलीले यादवलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी उपरीक्षक गोपीकृष्ण भट्टराईका अनुसार उनको साथबाट ५सय दरका १ हजार ३सय थान, २ सय दरका २सय थान र १ सय दरका १ सय थान भारतीय नोट बरामद भएको छ । बरामद रकमको कुल मूल्य ७ लाख भारतीय रुपैयाँ ९११ लाख २० हजार नेपाली रूपैया० रहेको छ ।
यस्तै, यादवको साथबाट सेन्ट्रल बैङ्क अफ इन्डियाका दुई थान खाली चेक समेत बरामद गरिएको छ । चेक नम्बर ७९०४२०९९९५ र १७०४९३८५८५ रहेका छन् । प्रहरीले एउटा मोबाइलसमेत बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरी नायब निरीक्षक गणेशबहादुर रोका मगरको कमान्डमा खटिएको सात सदस्यीय सशस्त्र प्रहरी टोली र प्रहरी नायब निरीक्षक विमल पौडेलको कमान्डमा रहेको तीन सदस्यीय नेपाल प्रहरीको संयुक्त टोलीले जाँचका क्रममा उक्त रकम बरामद गरेको हो । पक्राउ परेका यादव र बरामद सामग्री आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भैरहवा पठाइएको छ ।
यसैबिच, सशस्त्र प्रहरीले आइतबार बिहान सिद्धार्थनगर नगरपालिका–१ को बाइपास क्षेत्रमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको १० लाख १५ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमान्डमा खटिएको सात सदस्यीय मोबाइल टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा करिब ६ लाख १५ हजार ६ सय रुपैयाँ बराबरको किराना सामान तथा विभिन्न किसिमका औषधि बरामद गरेको हो । अवैध सामान ढुवानीमा प्रयोग भएको लु.प्र.०१–००१ ह ०१९१ नम्बरको ई–रिक्सा, अन्दाजी ३ लाख रुपैयाँ र लु.८९ प ८३६ नम्बरको स्कुटर, अन्दाजी १ लाख रुपैयाँ मूल्य बराबरको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सामान, ई–रिक्सा र स्कुटरसहित बरामद सामग्रीको कुल अनुमानित मूल्य १० लाख १५ हजार ६ सय रुपैयाँ रहेको छ । बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । सीमा क्षेत्रमा पछिल्लो समय अवैध रूपमा भारतीय मुद्रा, किराना सामग्री तथा औषधि नेपाल भित्र्याउने क्रम बढेपछि सुरक्षा निकायले सीमा तथा भित्री क्षेत्रमा निगरानी र चेकजाँचलाई कडाइ गरेको जनाएको छ ।