Butwal Today

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

३ आश्विन २०८३, शनिबार
अ+
अ-

भक्तपुर ।  यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको उपाधि नेपाल पुलिस स्कुल, साँगाले हात पारेको छ ।

सैनिक आवासीय महाविद्यालय सल्लाघारी, भक्तपुरको आयोजनामा सञ्चालन भएको २२औँ सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको महाविद्यालयको घरेलु मैदानमा भएको फाइनल खेलमा आयोजक महाविद्यालयलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस स्कुल, साँगाले उपाधि हात पारेको हो ।

आज यहाँ आयोजित समापन कार्यक्रममा कायममुकायम प्रधानसेनापति एवं बलाधिकृत रथी प्रदीप जङ्ग केसीले विजेता नेपाल पुलिस स्कुललाई ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरे ।

उनले उपविजेता सैनिक आवासीय महाविद्यालय रातोलाई ३० हजार रुपैयाँ नगद पुरस्कारसहित रनरअप ट्रफी तथा प्रमाणपत्र प्रदान गरे । उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूलाई विभिन्न विधामा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

पुरस्कार वितरणपछि कायममुकायम प्रधानसेनापति एवं बलाधिकृत रथी केसीले विद्यार्थी जीवनमा खेलकुदको महत्त्व, अनुशासन, टोली भावना तथा स्वस्थ प्रतिस्पर्धाले व्यक्तित्व विकासमा पुर्‍याउने योगदान महत्त्वपूर्ण हुने बताए ।

२२औँ संस्करणको यस प्रतियोगिताले विद्यालयस्तरमा फुटबल खेलको प्रवर्द्धन गर्नुका साथै प्रतिभावान खेलाडीको पहिचान र विकास, विद्यार्थीहरूबिच आपसी भाइचारा तथा सौहार्दपूर्ण सम्बन्ध विस्तार र खेलकुदमार्फत अनुशासित एवं स्वस्थ जीवनशैलीको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उनले बताए ।

विद्यालय स्तरीय फुटबल खेलको विकास तथा विद्यार्थीहरूमा खेलकुद भावना, अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा सैनिक आवासीय महाविद्यालयका दुई टिमसहित उपत्यकाका विभिन्न विद्यालयका जम्मा १२ समूह सहभागी भएको महाविद्यालयका व्यवस्थापन प्रमुख कर्नेल शिव पौडेलले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लिग तथा नकआउट चरणमा गरी कुल १९ वटा खेल सञ्चालन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?