© 2026
दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा एकैपटक १२ वटासम्म शव राख्न सकिने भएको छ ।
प्रतिष्ठानको शवगृहमा यसअघि एकैपटक चारवटा मात्रै शव राख्न सकिने व्यवस्था थियो । त्यसलाई विस्तार गरी हाल १२ वटासम्म शव राख्न सकिने बनाइएको प्रतिष्ठानका रजिस्ट्रार प्रा। श्याम लम्सालले जानकारी दिए ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले शव राख्न सक्ने क्षमताको नयाँ शवगृह निर्माण तथा विद्यमान शवगृह विस्तार गर्न परिपत्र गरेकाले सोहीअनुसार योजना बनाइने रजिस्ट्रार लम्सालले बताए ।
बाढी, पहिरो र भूकम्पलगायत प्राकृतिक विपद्का समयमा एकैपटक ठूलो संख्यामा शव आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले शवगृहको क्षमता विस्तार गर्ने निर्णय गरेको हो । सोहीअनुसार मन्त्रालयले देशभरका स्वास्थ्य संस्थालाई परिपत्र गरेको छ ।
विपद्का समयमा शवको सुरक्षित संरक्षण, पहिचान तथा परीक्षणका साथै आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सहज हुने गरी शवगृहको क्षमता विस्तार गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
मन्त्रालयबाट क्षमता विस्तारका लागि पत्राचार भएपछि प्रतिष्ठानले थप योजना निर्माणको तयारी थालेको रजिस्ट्रार लम्सालले जानकारी दिए ।