Butwal Today

बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम

२९ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमाडौँ । यस वर्षको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’ सामाजिक उत्तरदायित्वसँग जोडिएको छ ।

भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । फेसियल हाउसले आयोजना गरेको उक्त कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसँगै ‘ब्राइडल मेकअप कम्पिटिसन’ समेत आयोजना गरिएको थियो ।

‘चाडपर्व पनि मनाऔँ, बाढीपीडितलाई पनि सहयोग गरौँ’ भन्ने नारासहित शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा सङ्कलन भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा फेसियल हाउसकी संस्थापक तथा प्रबन्ध निर्देशक सुष्मा महराले चाडपर्वलाई सामाजिक सेवासँग जोडेर अघि बढाउनुपर्ने बताइन् ।

“संस्कृति पनि जोगिन्छ, आफन्त र साथीभाइसँग भेटघाट पनि हुन्छ । त्यससँगै विपद्मा परेका नागरिकलाई सहयोग गर्न पनि सकिन्छ । त्यसैले यस वर्षको कार्यक्रमलाई बाढीपीडितलाई सहयोग गर्ने अभियानसँग जोडेर आयोजना गरेका हौँ,” महराले भनिन् ।

यस वर्ष आयोजित ब्राइडल मेकअप प्रतियोगितामा २५ जना प्रतिस्पर्धी सहभागी भएका थिए । प्रतियोगितामा विभिन्न सात विधामा उत्कृष्ट हुने प्रतिस्पर्धीलाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा सुनिता राई विजेता बनिन् । अस्लिना गुरुङ फस्र्ट रनरअप र उर्मिला तामाङ सेकेन्ड रनरअप घोषित भइन् ।

त्यस्तै, जुनु श्रेष्ठ ‘बेस्ट पर्फमर’, मुना राई ‘बेस्ट र्याम्प वाक’, सुनिता लामा ‘बेस्ट ट्रेडिसनल अटायर प्रेजेन्टेसन’ तथा सरु गुरुङ ‘स्टाइल आइकन अफ द इभेन्ट’ घोषित भइन् । विजेताहरूलाई क्राउनसमेत लगाइएको थियो ।

प्रतियोगितासँगै कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो । फेसियल हाउसले स्थापनाकालदेखि नै हरेक वर्ष विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?