© 2026
रोल्पा । स्थानीय तह गठन भएको करिब एक दशक पुग्न लाग्दा पनि रोल्पा जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाका विभिन्न बस्ती विद्युत् सेवाबाट वञ्चित छन् ।
सदरमुकाम र विद्युत् वितरण केन्द्रकै आसपासका क्षेत्रमा समेत नागरिकले नियमित विद्युत् सेवा पाउन नसकेपछि स्थानीयले बिहीबार नेपाल विद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्र पुगेर ज्ञापन पत्र बुझाउँदै तत्काल विद्युत् विस्तार गर्न माग गरेका छन् ।
रोल्पा नगरपालिका वडा नम्बर ९, १०, ८, ७ र ५ का विभिन्न बस्तीमा अझै मुख्य विद्युत् लाइन नपुगेको, कतिपय स्थानमा शाखा लाइन विस्तार हुन बाँकी रहेको, कतिपय ठाउँमा ट्रान्सफर्मर जडान नभएको तथा केही बस्ती लघु जलविद्युतमा निर्भर रहनुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ । विद्युत् नहुँदा विद्यालयको पठनपाठनदेखि उद्योग, व्यवसाय, सञ्चार तथा दैनिक जीवनका आधारभूत कामसमेत प्रभावित भएको उनीहरूले बताएका छन् ।
रोल्पा नगरपालिका–९ का ४६ वर्षीय स्थानीय मोलङ घर्तीमगरले नगरपालिका नजिकै रहेर पनि आफ्नो वडा विद्युतको पहुँचका हिसाबले निकै पछाडि परेको बताएका छन् । उनका अनुसार वडा नम्बर ९ का क्वापातल, कर्तम, गुन्थल, लेखवन र फाल्जालगायतका बस्ती अझै विद्युत् सेवाबाट पूर्ण रूपमा जोडिन सकेका छैनन् । कर्तम लघु जलविद्युतमा निर्भर रहेको र फाल्जामा शाखा लाइनसमेत नपुगेको उनले बताएका छन् ।
रोल्पा नगरपालिका–९ का २८ वर्षीय शिक्षक सबिन बिकले विद्युतको अभावका कारण विद्यालयलाई प्रविधिमैत्री बनाउन समस्या भएको बताएका छन् । सरकारले प्रविधिमैत्री विद्यालयको अवधारणा अघि सारे पनि विद्युत् नहुँदा व्यवहारमा त्यसलाई कार्यान्वयन गर्न नसकिएको उनले बताएका छन् ।
विद्यालयमा प्रोजेक्टर, टेलिभिजनलगायतका माध्यमबाट विद्यार्थीलाई सिकाउनुपर्ने अवस्था भए पनि विद्युत् अभावमा त्यस्ता उपकरण प्रयोग गर्न नसकिएको बिकले बताएका छन् । विद्यालयका कागजात प्रिन्ट गर्ने, अनलाइन प्रणालीमार्फत विवरण प्रविष्ट गर्ने तथा विद्युतमा आधारित अन्य सेवा प्रयोग गर्नसमेत समस्या भइरहेको उनले बताएका छन् ।
रोल्पा नगरपालिका–९ कै स्थानीय बिरु परियारले आफ्नो घरमा विद्युत् मिटर जडान गरिसकेको र वायरिङसमेत पूरा गरेको भए पनि विद्युत् आपूर्ति नहुँदा समस्या भएको बताएका छन् । विद्युत् आउने आशामा लामो समयदेखि घरको वायरिङ गरेर राख्दा तार तथा अन्य सामग्रीसमेत बिग्रन थालेको उनले बताएका छन् ।
रोल्पा नगरपालिका–५ का ४२ वर्षीय मानबहादुर पुनले आफ्नो वडाका नागरिक अझै सोलारको भरमा बस्न बाध्य भएको बताएका छन् । मोबाइल फोन चार्ज गर्नदेखि विद्यार्थीलाई अध्ययन गर्नसम्म सोलारमा निर्भर हुनुपर्ने अवस्था रहेको उनले बताएका छन् ।
रोल्पा नगरपालिका–१० का वडा अध्यक्ष मोतिलाल डाँगीले विद्युतको अभावले जनप्रतिनिधिलाई समेत जनताको माग सम्बोधन गर्न कठिन भएको बताएका छन्। स्थानीयका माग लिएर आफूहरू पटकपटक विद्युत् कार्यालय पुगे पनि स्पष्ट र प्रभावकारी रूपमा काम अघि बढ्न नसकेको उनले बताएका छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पूर्वअध्यक्ष मानसिंह विश्वकर्माले विद्युत् विस्तारका लागि सम्बन्धित कर्मचारी र जनप्रतिनिधिबीच पर्याप्त समन्वय हुन नसकेको बताएका छन् । कुन निकायले कुन क्षेत्रमा कसरी विद्युत् पु¥याउने भन्ने विषयमा स्पष्ट योजना र प्रभावकारी समन्वय हुनुपर्ने भए पनि त्यसतर्फ पर्याप्त ध्यान नदिइएको उनले बताएका छन् ।
विश्वकर्माले स्थानीय तह, विद्युत् प्राधिकरण तथा अन्य सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताएका छन् । जनताले विद्युतको माग गरिरहेको लामो समय भइसकेकाले अब आश्वासनभन्दा कामको परिणाम देखाउनुपर्ने उनले बताएका छन् ।
रोल्पाबाट निर्वाचित जनप्रतिनिधि तथा पूर्वअर्थमन्त्री वर्षमान पुनसँग समेत स्थानीयको अपेक्षा रहेको भए पनि विद्युत् समस्याबारे आफूहरूसँग पर्याप्त संवाद हुन नसकेको विश्वकर्माले बताएका छन् । नागरिकलाई कहिलेसम्म उज्यालो बनाउने भन्ने प्रश्नको जवाफ सम्बन्धित निकायले दिनुपर्ने उनले बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्रका प्रमुख ईश्वरबहादुर विष्टले आफू केही समयअघि मात्र सरुवा भएर रोल्पा आएको बताएका छन् । कार्यालयमा आएपछि विद्युत् नपुगेका क्षेत्रका समस्याबारे माथिल्लो निकायमा जानकारी गराइसकेको उनले बताएका छन् ।
विद्युतको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयले संघर्ष समितिमार्फत थप कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएका छन् । संघर्ष समिति संयोजक फबिन्द्र आचार्यले आफूहरूले सम्बन्धित निकायलाई पटकपटक ध्यानाकर्षण गराउँदै आएको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी गौतमले जिल्लाकै एक मात्र नगरपालिकाका विभिन्न क्षेत्रमा अझै विद्युतको पहुँच नपुग्नु गम्भीर विषय भएको बताएका छन् । जिल्ला सदरमुकाम आसपासकै क्षेत्रमा विद्युत् सेवा प्रभावकारी रूपमा विस्तार हुन नसक्नु लज्जास्पद अवस्था भएको उनले बताएका छन् ।
ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी गौतमले प्राप्त माग सम्बन्धित निकायमा पु¥याउने बताएका छन् । विद्युत् समस्या समाधानका लागि सम्बन्धित कार्यालय तथा अन्य निकायसँग आवश्यक समन्वय गर्ने उनले बताएका छन् ।
संघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा रोल्पा नगरपालिका–१० का पेवा, भोकासिबाङ, थामबझाङ्गे, लुङजुङ, कासाबाङ, धनपोखरा, लुडुखुङ र खारवनलगायतका स्थानमा विद्युत् विस्तार गर्न माग गरिएको छ ।
त्यस्तै वडा नम्बर ९ का क्वापातल, कर्तम, गुन्थल, लेखवन, फाल्जा, हाङबाङ र गोलबाङ तथा वडा नम्बर ८ का भेरीखोला, खुमबासा र दरखनलगायतका क्षेत्रमा विद्युत् सेवा विस्तार गर्न माग गरिएको छ ।
ज्ञापनपत्रमा साविक जंकोट–६ को सम्पूर्ण भूभागमा लघु जलविद्युतमा निर्भर रहनुपर्ने अवस्था अन्त्य गर्न, वडा नम्बर ७ को घापा क्षेत्र तथा वडा नम्बर ५ का गोगनपानी, छाप, भलबाङ, मझुवा, बाठाचौर र फुर्काटोपलगायतका बस्तीमा समेत विद्युत् सेवा पु¥याउन माग गरिएको छ ।
स्थानीयले विद्युत् सेवा नहुँदा विद्यार्थीले टुकी, दियालो तथा सोलारको भरमा अध्ययन गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । विद्युत् अभावकै कारण आधुनिक प्रविधिको प्रयोग, सूचना प्रविधिमा पहुँच, उद्योग तथा व्यवसाय सञ्चालन र रोजगारी सिर्जनामा समेत असर परेको उनीहरूको भनाइ छ ।
ज्ञापनपत्रमा विगतमा पटकपटक विद्युत् कार्यालयमा पुग्दा आज–भोलि भन्दै समय सार्ने तथा ठेक्का प्रक्रिया पूरा भएको बताउने तर काम अघि नबढाउने प्रवृत्ति देखिएको उल्लेख गरिएको छ । ठेक्का लागिसकेको स्थानमा तत्काल काम अघि बढाउन र ठेक्का नलागेका क्षेत्रमा प्रक्रिया तत्काल अघि बढाउन माग गरिएको छ ।