© 2026
सुनवल । एमसीसी परियोजना अन्र्तगत पश्चिम नवलपरासीको सुनवलको सुर्यवस्ती देखि भारतको सीमा सम्मको प्रसारण लाइनको निर्माण कार्य सकिएको छ ।
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले ४ सय केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको निर्माण कार्य शिलान्यासको ९ महिनामै सम्पन्न गरेको हो ।
पश्चिम नवलपरासीको सुनवल— १३ सुर्यवस्तीमा निर्माणाधीन सबस्टेशन देखि भारतको सिमा सम्म १८ किलोमिटर खण्डमा ५३ वटा टावरको निर्माण सम्पन्न भएको एमसिए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर बिष्टले जानकारी दिए ।
आइतबार अर्थमन्त्रालयका सचिव तथा एमसिए–नेपालको सञ्चालक समितिका अध्यक्ष डा। घनश्याम उपाध्यायले नेपाल, संयुक्त राज्य अमेरिका र एमसीसीबिचको साझेदारीले उर्जा क्षेत्रमा नयाँ सम्भावना उजागर गरेको जानकारी दिए ।
एमसीसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्कोले नेपालको उर्जा व्यापारको क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको बताउँदै साझा लक्ष्य प्राप्तिका लागि एकजुट भएर काम गर्दा कस्तो परिणाम हासिल गर्न सकिने बताइन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेलले नेपालले आफ्नो विद्युतीय पूर्वाधार सुदृढ गर्न र सीमापार विद्युत् सम्पर्क विस्तार गर्न गरेको प्रयास समयमै प्रसारण लाइन निर्माण सम्पन्न हुनुले पुष्टि गरेको बताए ।
नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले प्रसारण लाइन मार्फत नेपाल र भारतबिचको सुदृढ विद्युत् सञ्जालबाट प्राप्त हुने बृहत् लाभ हासिल गर्न नेपाल थप सक्षम बन्दै गएको बताए । नेपालतर्फको १८ किमि प्रसारण लाइन खण्ड पूरा भएबाट सीमापार प्रसारण लाइन अन्तर्गत एमसिए–नेपालबाट हुनुपर्ने निर्माण कार्य सम्पन्न भएको छ ।
अब यो प्रसारण लाइनमा विद्युत् प्रवाह गरी यसलाई सञ्चालनमा ल्याउनुपूर्व नेपाल–भारत सीमापार विद्युत् प्रवाह गर्न आवश्यक कार्य एवं स्वीकृति प्राप्ति लगायतका बाँकी कामलाई अगाडि बढाइनेछ । गत वर्षको मङ्सिरमा तत्कालीन अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।
उक्त प्रसारण लाइन निर्माणका लागि हाल सम्म झन्डै एक अर्ब २४ करोड बराबरको मुआब्जा वितरण गरिएको छ । अझै केही जग्गाको मुआब्जा वितरण प्रक्रियामा रहेको एमसिए नेपालले जनाएको छ ।
एमसीसी परियोजना अन्तर्गत ३१५ किलोमिटर लामो उच्च–भोल्टेजयुक्त प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माणका साथै विद्युत् नियमन आयोग र नेपाल विद्युत प्राधिकरणलाई प्राविधिक सहयोग प्रदान गर्ने कार्यहरू भइरहेका छन् । अहिले पहिलो खण्डको रुपमा अन्तरदेश जोड्ने प्रसारण लाइन निर्माण भएको हो ।