Butwal Today

कतारमा एनआरएनएको राहत अभियानः ५८ लाख १४ हजार रुपैयाँ संकलन

२९ भाद्र २०८३, सोमबार
अ+
अ-

दोहा, कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारले सञ्चालन गरेको उद्धार तथा राहत अभियानमा ५८ लाख १४ हजार ४३३ रुपैयाँ संकलन भएको छ ।

नेपालमा भोटेकोशीमा आएको बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कतारमा रहेका विभिन्न सामाजिक संघसंस्था, व्यवसायी, सामाजिक व्यक्तित्व तथा एनआरएनए आईसीसी र एनसीसी कतारका पदाधिकारीबाट उक्त रकम संकलन भएको हो ।

एनआरएनए एनसीसी कतारको समन्वयमा गठित उद्धार तथा राहत मूल समितिले सेप्टेम्बर ११ सम्म राहत संकलन अभियान सञ्चालन गरेको थियो । अभियान समापनसँगै शनिबार साँझ संकलित रकम हस्तान्तरण गरिएको हो ।

राहत अभियानको आर्थिक व्यवस्थापनको जिम्मेवारी सम्हालेका एनसीसी कतारका उपाध्यक्ष तथा श्रमिक विभाग संयोजक सन्तोष पौडेलका अनुसार संकलित रकममध्ये बाढी प्रभावित क्षेत्रका कतारमा रहेका दुई जनालाई नेपाल पठाउन हवाई टिकट उपलब्ध गराइएको छ । टिकट खर्च कटाएर ५७ लाख ५० हजार ९३३ रुपैयाँ बाँकी रहेको उनले जानकारी दिए ।

संकलित रकमको विवरण एनआरएनए आईसीसीका पूर्वअध्यक्ष आरके शर्मा, उपमहासचिव मोहम्मद मुक्ता र सचिव पदम गिरीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिले राहत रकम पारदर्शी रूपमा वास्तविक पीडितसम्म पुर्‍याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा एनआरएनए आईसीसीका पूर्वअध्यक्ष आरके शर्माले विपत्तिका बेला कतारमा रहेका नेपाली श्रमिकले निरन्तर सहयोग गर्दै आएको भन्दै अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले भूकम्प, कोरोना महामारीदेखि बाढीपहिरोसम्म नेपालीहरूले देखाउँदै आएको सहयोगी भावना प्रशंसनीय रहेको बताए ।

एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले राहत अभियानका विषयमा विभिन्न भ्रम सिर्जना भएको भन्दै त्यसले आफूहरूलाई दुःखी बनाएको बताए । उनले एनआरएनए एनसीसी कतार सधैं कतारमा रहेका नेपाली श्रमिकको साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।

नेपालमा बाढीपहिरो आएलगत्तै एनआरएनए आईसीसीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ । विभिन्न मुलुकमा रहेका एनसीसीहरू पनि राहत तथा पुनःस्थापनामा जुटिरहेका छन् ।

कतारमा संकलित रकम एनआरएनए आईसीसीमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाइने जानकारी कार्यक्रममा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?