© 2026
काठमाडौँ । आज हिन्दु धर्मावलम्बी नारीहरू देवादिदेव महादेवको पूजा–आराधना गरी हरितालिका तीज मनाउँदै छन् । भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन हरितालिका व्रत (तीजको व्रत) बस्ने धार्मिक परम्परा छ ।
महर्षि आपस्तम्बले उल्लेख गरेअनुसार चतुर्थीसहितको तृतीया तिथि यस व्रतका लागि उत्तम फलदायक मानिन्छ । द्वितीया तिथिसँग योग भएको दिन भने हरितालिका व्रत गर्नु नहुने शास्त्रीय मान्यता छ ।
यस दिन विवाहित महिलाले पतिको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामना गर्दै व्रत बस्ने गर्छन् । शास्त्रीय रूपमा महिला र पुरुष दुवैले यो व्रत गर्नुपर्ने विधान रहे पनि नेपाली समाजमा भने महिलाले मात्र पतिको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा स्थापित भएको छ ।
भाद्र शुक्ल तृतीयाका दिन व्रत बसी भगवान् शिव र माता पार्वतीको पूजा तथा उपासना गर्नाले सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ ।
यस्तो छ पौराणिक कथा
पौराणिक कथाअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा कठोर तपस्या गरी महादेवलाई पतिको रूपमा प्राप्त गर्ने वरदान पाएकी थिइन् । पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीले आफ्ना सखीहरूलाई आफ्नो समस्या सुनाएकी थिइन् ।
पार्वती ठूलो समस्यामा परेको थाहा पाएपछि उनका सखीहरूले उनलाई हरण गरी कसैले नदेख्ने गुप्त स्थानमा लगेर लुकाए । साथीहरूले लुकाएकै स्थानमा पार्वतीले निराहार व्रत बसी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् ।
यसरी सखीहरूले पार्वतीलाई हरण गरेको दिन भाद्र शुक्ल तृतीया परेकाले सोही समयदेखि हरितालिका तीजको व्रत बस्ने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।
यस अवसरमा महिलाहरू भेला भएर खुसीयालीका साथ नाचगान गर्ने गर्छन् । तीजका गीतमा भगवान्का भक्तिगाथाका साथै महिलाका आन्तरिक पीडा, सुख–दुःख र मनोभावनासमेत अभिव्यक्त भएको पाइन्छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर ‘हरितालिका’ शब्द बनेको मानिन्छ । ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी वा सखी भन्ने हुन्छ ।
सत्ययुगमा आजकै दिन निराहार व्रत बसेर पार्वतीले महादेवलाई स्वामीका रूपमा प्राप्त गरेकाले यस दिन व्रत बस्दा सम्पूर्ण मनोकामना पूरा हुने जनविश्वास छ ।
स्वास्थ्यअनुकूल व्रत बस्न सकिने
हरितालिका तीजको व्रत निराहार अर्थात् केही पनि नखाई, जलाहार अर्थात् पानी मात्र पिएर वा फलाहार अर्थात् फलफूल तथा अन्य फलजन्य पदार्थ सेवन गरेर बस्न सकिन्छ ।
शास्त्रमा ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् जसरी भए पनि आफ्नो शरीर र स्वास्थ्यको रक्षा गर्नुपर्छ भनिएको छ । त्यसैले आफ्नो स्वास्थ्यको अवस्थालाई ध्यानमा राखी व्रत बस्दा स्वास्थ्यमा असर नपर्ने विधि अपनाउनु उचित हुने धार्मिक मान्यता छ ।
स्वास्थ्यका कारण निराहार व्रत बस्न असमर्थ महिला वा पुरुषले जल, सखरखण्ड, पिँडालु, तरुल, केरा, आँप, अम्बा, दूधजस्ता हवनीय वस्तु सेवन गर्न सक्छन् । गुरुको वचनद्वारा अनुमोदित वस्तु सेवन गर्न सकिने व्यवस्था पनि शास्त्रमा उल्लेख गरिएको छ ।
स्कन्द पुराणमा उल्लेख भएअनुसार औषधि सेवन गर्दा व्रत भङ्ग नहुने मान्यता छ । एकादशी र तीजको व्रतमा अन्न भोजन गर्नु हुँदैन । तर फलफूल, कन्दमूल, दूध र जल भने ग्रहण गर्न मिल्ने धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।