© 2026
काठमाडौं । बाढी प्रभावित क्षेत्रमा खटिएका वाईसीएल नेपालका स्वयंसेवकले अस्थायी आवास निर्माणको काम थालेका छन्। वाईसीएलले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा सुरुदेखि नै ६ सय स्वयंसेवक परिचालन गरेको जनाएको छ। बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री वितरणसँगै पीडित परिवारको गाँस र बासको व्यवस्थापनमा स्वयंसेवकहरू खटिएको वाईसीएल अध्यक्ष पुष्प ओलीले जानकारी दिए।
उनका अनुसार राहत वितरणसँगै धादिङ र नुवाकोटका बाढी प्रभावित घरको सरसफाइ तथा स्थानीयको आवश्यकताका आधारमा अस्थायी आवास निर्माणको काम अघि बढाइएको छ। ओलीले मातृ पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा स्वयंसेवक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको बताए। स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै पहिलो चरणमा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित ठूलो खोला, लामोस्वाँती, रातमाटे र महादेव फाँटका प्रभावित परिवारका लागि १५० वटा अस्थायी आवास निर्माण गरिने उनले बताए।
त्यस्तै, वैकल्पिक सडक हुँदै रसुवाका प्रभावित क्षेत्रमा ग्यास, पेट्रोल, सोलार लाइट, चामल, नुन, तेल, दाल, पावर बैंक, मोबाइल सेट, सेनिटरी प्याड तथा म्याट्रेसलगायत अत्यावश्यक सामग्री पुर्याइएको ओलीले बताए। त्रिशूली नदीपारिको सडक सञ्जाल विच्छेद भएपछि धादिङको कठिन बाटो हुँदै नुवाकोटको विदुर नगरपालिका–७, ८ र ९ का अति प्रभावित क्षेत्रमा पुगेर लत्ताकपडा, सिरक, डसना, औषधि, स्टेसनरी तथा खाद्यान्न सामग्रीसमेत वितरण गरिएको उनले जानकारी दिए।
वाईसीएलले अहिले ‘निभेको चुलो बालौँ, मरेको आशा जगाऔँ ’ अभियान सञ्चालन गरिरहेको छ। अभियानअन्तर्गत पीडित परिवारलाई खाना पकाउने ग्यास तथा खाद्यान्न उपलब्ध गराउनुका साथै राहत र पुनःस्थापनाका कामलाई निरन्तरता दिइएको संगठनले जनाएको छ।