© 2026
पाल्पा ।
बगनासकाली गाउँपालिका–७, खानीछापकी ७० वर्षीया बिमला शारुलाई पछिल्ला केही वर्षयता तीज पर्व आउन लाग्दा पहिले जस्तो उत्साह महसुस हुँदैन । धार्मिक र सांस्कृतिक महत्त्व बोकेको यो पर्व मनाउने परम्परागत शैली बदलिँदै गएपछि उनलाई तीज केही खल्लो लाग्न थालेको छ ।
“तीजको धार्मिक महत्त्व त छँदै छ । तर, पहिले जसरी मनाइन्थ्यो, अहिले त्यो परम्परा हराउँदै गएको छ,” शारु भन्छिन् । उनका लागि तीज केवल व्रत बस्ने वा नयाँ लुगा लगाउने पर्व होइन, माइती–चेलीको भेटघाट, दुःख–सुख साटासाट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको संस्कृतिसँग जोडिएको अवसर हो ।
शारुको छिमेकी ७२ वर्षीया हरिकला न्यौपाने पनि तीजको बदलिँदो स्वरूपप्रति उस्तै चिन्तित छिन् । उनका अनुसार सडक र शिक्षाको विकास हुनुअघि तीज आउन लाग्दा माइती पक्ष छोरीचेली लिन घरमै पुग्थे । सबै चेलीबेटी जम्मा भएपछि घरआँगनमा जीवनका दुःख–सुख, पारिवारिक पीडा र सामाजिक विभेदलाई गीतमार्फत व्यक्त गरिन्थ्यो । “पहिले तीजका गीतमा महिलाका भोगाइ र वेदना हुन्थे । अहिले तीज मनाउने शैली नै बदलियो,” न्यौपाने भन्छिन् ।
धार्मिक मान्यताअनुसार हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति पाउन गरेको तपस्यासँग तीज जोडिएको छ । यही कारण यो पर्वलाई धार्मिक महत्त्वका साथ मनाउने गरिएको धर्मविद्हरू बताउँछन् । तर, समयसँगै तीजको सामाजिक र सांस्कृतिक पक्षमा पनि परिवर्तन आएको छ ।
तानसेन नगरपालिका–९ की धनमाया पंगेनीका अनुसार पहिले तीजका गीतमा छोरा र छोरीबीचको विभेद, बुहारीमाथिको व्यवहार तथा महिलाले भोग्नुपरेका सामाजिक असमानता अभिव्यक्त हुन्थे । शिक्षा र चेतनाको विकाससँगै यस्ता विभेद घट्दै गएपछि गीतका विषय पनि बदलिएका छन् ।
तीजको खानपिन र जमघटको शैलीमा पनि ठूलो परिवर्तन आएको छ । पहिले घरमै दर खाने चलन थियो । माइती नहुने महिलाका लागि तीज निकै खल्लो हुने गरेको सम्झना पुरानो पुस्तासँग छ । अहिले भने साउन लागेसँगै पार्टी प्यालेसमा दर खाने, नयाँ कपडा लगाउने र सामूहिक कार्यक्रम गर्ने चलन बढेको छ । कतिपय कार्यक्रममा मासु र मदिरासमेत प्रयोग हुन थालेका छन् ।
पहिले माइतीले चेलीलाई लिन घरमै पुग्नुपर्ने अवस्था थियो । अहिले सञ्चार प्रविधिको विकाससँगै फोनबाटै बोलाउने चलन छ । रोजगारीका लागि नेपाली महिला संसारका विभिन्न मुलुकमा पुगेपछि तीजमा माइती जाने क्रम पनि घटेको दुर्गा शर्मा बताउँछिन् । “संस्कृति हाम्रो पहिचान हो । यसको मौलिकता जोगाउन पुरानो र नयाँ पुस्ताबीच संवाद आवश्यक छ,” शर्मा भन्छिन्, “आधुनिकता स्वीकार्दै मौलिक परम्पराको संरक्षण गर्न सके मात्र तीजको वास्तविक महत्त्व जोगिन्छ ।”