© 2026
दोहा (कतार) ।
लोक तथा दोहोरी गायक खेम सेन्चुरीले कतारमा आयोजित तीज विशेष कार्यक्रममा आफ्ना चर्चित गीतमार्फत दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् ।
हरितालिका तीजको अवसरमा आयुषा मेकअप, अल दाना सैलुन कतार र आयुषा सैलुन एन्ड एकेडेमी प्रालि काठमाडौँको चौथो प्रस्तुतिका रूपमा आयोजित ‘माइती र चेली तीज सङ्गीतमय दर कार्यक्रम’मा सेन्चुरीले साङ्गीतिक प्रस्तुति दिएका हुन् ।
देशमा परेको विपद्को समयमा ‘शोकलाई शक्तिमा बदलौँ’ भन्ने सन्देशसहित कतारमा रहेका नेपाली समुदायलाई सांस्कृतिक रूपमा एकजुट गराउने उद्देश्यले शुक्रवार साँझ दोहास्थित रेडिसन ब्लु होटलको सभा हलमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमको उत्तरार्धमा सेन्चुरी हलमा प्रवेश गर्दा दर्शकले हुटिङ र तालीसहित स्वागत गरेका थिए । साङ्गीतिक प्रस्तुति सुरु गर्नुअघि उनले नेपालमा आएको विनाशकारी बाढी पहिरोमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, नेपाली सेना तथा सहयोगी सबैप्रति सम्मान व्यक्त गर्न दर्शकलाई आग्रह गरे ।
‘देश दुःखमा परेको बेला कलाकारलाई पनि रमाइलो गर्ने मन हुँदैन, तर कला र सङ्गीतमार्फत पनि देशलाई सहयोग गर्न सकिन्छ,’ उनले भने ।
त्यसपछि उनले ‘तिमीलाई छोडी जान मन’, ‘मायालाई पानको पात’, ‘धानको पात’, ‘उनी छन् पो’, ‘मेरो माया न मारे काली’, ‘हेर मैले नाचेको’ लगायतका एक दर्जन चर्चित गीत प्रस्तुत गरे । दर्शकको ‘वान्स मोर’ले उनको प्रस्तुति थप रोमाञ्चक बनेको थियो भने तीजको अवसरमा सहभागी दिदीबहिनीहरू छमछमी नाचेका थिए ।
तीज सङ्गीतमय कार्यक्रममा कलाकार वीरेन्द्रकुमार श्रेष्ठलगायत अन्य थुप्रै कलाकारले समेत साङ्गीतिक प्रस्तुति दिएका थिए । सो अवसरमा प्रशिक्षण केन्द्रको वेबसाइट सार्वजनिक गर्नुका साथै आयुषाको जीवन सङ्घर्षमा आधारित वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रम समापन गर्दै सभाध्यक्ष आयुषा श्रेष्ठ खड्काले प्रवासमा नेपाली मौलिक संस्कृति, परम्परा र संस्कारलाई जीवन्त राख्दै माइती–चेलीको आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । उनले भोटेकोसी बाढी पहिरो पीडितका लागि रकम सङ्कलन भएको र उक्त रकम छिट्टै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने जानकारी दिइन् ।
६० वर्षीया इन्द्रकुमारी श्रेष्ठको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहसंयोजक आयुषा खड्काले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सहजीकरण विजय राज अधिकारी, शारदा भुजेल र अनु सुवेदी बस्नेतले गरेका थिए । श्रेष्ठले कलाकारप्रति आभार व्यक्त गर्दै कार्यक्रम आयोजना गरेकोमा आयोजक आयुषालाई धन्यवाद दिइन् ।