Butwal Today

गुल्मीका लाभग्राहीलाई बुटवलमा सेवा

२८ भाद्र २०८३, आइतबार
अ+
अ-

गुल्मी ।  गुल्मीको मुसिकोट नगरपालिकाले जिल्ला बाहिर बसोबास गर्दै आएका सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई लक्षित गरी रुपन्देहीको बुटवलमा परिचयपत्र नवीकरण तथा नयाँ दर्ता शिविर सञ्चालन गरेको छ ।

मुसिकोटमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने बाध्यता अन्त्य गर्दै लाभग्राहीलाई पायक पर्ने स्थानमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको नगर प्रमुख जीवन खरेलले बताए ।

बुटवल उपमहानगरपालिका–५ स्थित वडा कार्यालयको सभाहलमा बिहीबारदेखि सञ्चालन भएको शिविरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको परिचयपत्र नवीकरण तथा नयाँ दर्ता सेवा उपलब्ध गराइएको छ । दुई दिनसम्म सञ्चालन हुने शिविरबाट बुटवल सहित रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, दाङ लगायत जिल्लामा बसोबास गर्ने मुसिकोटवासी लाभान्वित हुने नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख खरेलले स्थानीय सरकारको प्रमुख दायित्व नागरिकलाई सहज र सर्वसुलभ सेवा प्रवाह गर्नु भएकाले मुसिकोट बाहिर बसोबास गर्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य लाभग्राहीलाई पायक पर्ने स्थानमै सेवा दिनका लागि स्थानीय सरकारद्वारा शिविर सञ्चालन गरिएको बताए ।

शिविरमा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणसँगै अन्य लाभग्राहीका लागि नयाँ दर्ताको समेत व्यवस्था गरिएको छ । शिविरबाट सेवा लिनुभएकी मुसिकोट–५ हाल रुपन्देहीमा बस्दै आउनु भएकी मायादेवी दमाईंले घर नजिकै सेवा पाएपछि समय र खर्च दुवै बचत भएको बताइन् ।

त्यस्तै मुसिकोट–२ का तेजुराम घिमिरेले वर्षायाममा जिल्लासम्म पुग्नुपर्ने बाध्यता रहेको अवस्थामा नगरपालिकाले बुटवलमै शिविर सञ्चालन गरेर आफूजस्ता ज्येष्ठ नागरिकलाई ठूलो राहत प्रदान गरेको बताएका छन् । नगरपालिकाका अनुसार शिविरको पहिलो दिन एक सय ३५ जनाले सेवा लिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?