Butwal Today

पिपरा अस्पतालमा बढ्दै सेवाग्राहीको चाप

२८ भाद्र २०८३, आइतबार
अ+
अ-

बाणगंगा ।  कपिलवस्तुको पिपरा अस्पतालमा सेवा विस्तारसँगै सेवाग्राहीको चाप बढ्दै गएको छ । अस्पतालले उपचार सेवासँगै बिरामी तथा कुरुवाको सहजताका लागि नयाँ सुविधा थप्न थालेपछि दैनिक सेवा लिन आउनेको सङ्ख्या बढ्दै गएको हो ।

दैनिक करिब ३ सय जनाले अस्पतालबाट स्वास्थ्य सेवा लिने गरेका छन् । आर्थिक वर्ष २०८२/८३ मा मात्रै अस्पतालको ओपिडीबाट ४२ हजार २ सय २२ जनाले सेवा लिएक अस्पतालले जनाएको छन् ।

आर्थिक वर्ष २०८३/८४ को साउनदेखि अस्पताल परिसरमै क्यान्टिन सञ्चालनमा आएपछि ताजा खाना तथा अन्य खानेकुरा उपलब्ध हुन थालेको हो । अस्पतालमा सेवा विस्तार भइरहे पनि पर्याप्त जनशक्ति र भौतिक संरचनाको अभाव भने मुख्य चुनौतीका रूपमा देखिएको छ ।

पिपरा अस्पतालका प्रशासन शाखा प्रमुख राजु सुनारीका अनुसार अस्पतालमा हाल ६५ जना कर्मचारी कार्यरत छन् । अस्पतालमा २ जना कन्सल्टेन्ट र ४ जना मेडिकल अधिकृत गरी ६ जना चिकित्सक कार्यरत छन् ।

पुरानो भौतिक संरचनाबाट सेवा दिँदै आएको अस्पतालमा हाल १६ कोठे ओपिडी भवन निर्माण भइरहेको छ । साथै १५ देखि २५ शैयाको अस्पताल निर्माणका लागि डिपिआर तयार भइसकेको र निर्माणको काम अघि बढ्न बाँकी रहेको सुनारीले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संजोक सिवाकोटीका अनुसार अस्पतालमा जम्मा ३० बेड रहे पनि २८ देखि २९ बेड सञ्चालनमा छन् । १५ शैयाको अस्पतालका रूपमा स्वीकृत अस्पतालमा बिरामीको चापअनुसार जनशक्ति पर्याप्त नहुँदा छिटोछरितो सेवा दिन चुनौती भइरहेको उनले बताए ।

उनले अस्पतालको ल्याबमा ७ जना कर्मचारी कार्यरत रहेको बताए । विशेषगरी सार्वजनिक बिदापछि अस्पतालमा बिरामीको चाप ह्वात्तै बढ्ने भएकाले विभिन्न परीक्षणको रिपोर्ट आउन समय लाग्ने र बिरामी व्यवस्थापनमा समेत समस्या हुने गरेको छ ।
डा. सिवाकोटीले अस्पताल सञ्चालनका लागि स्थानीय सरकारले मात्रै बजेट विनियोजन गर्दै आएको र प्रदेश सरकारबाट पर्याप्त बजेट नआएको गुनासो गरे । संघीय सरकारबाट भने आमा सुरक्षा कार्यक्रमअन्तर्गत वार्षिक करिब २० लाख रूपैयाँ बजेट आउने गरेको उनले बताए । नयाँ भवन सञ्चालनमा आएपछि हाडजोर्नी, बालरोग, डेन्टल तथा फिजियोथेरापीलगायत सेवा थप गर्ने तयारी रहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा मेजर अप्रेसन सेवा सुरु भएको दुई वर्ष पूरा भएको छ । प्रशासनका अनुसार पछिल्लो दुई वर्षमा मेजर अप्रेसनअन्तर्गत सिजेरियन सेक्सन (सी–सेक्सन) १ सय ४० जना, मेजर ओटीबाट १ सय ७५ जना र माइनर ओटीबाट १ हजार ३ सय १५ जनाले सेवा लिएका छन् । गत वर्ष मात्रै ५ सय ४६ जनाको सामान्य प्रसूति भएको अस्पतालले जनाएको छ । अस्पतालका अहेव पिताम्बर ज्ञवालीका अनुसार विगतमा कहिलेकाहीँ केही प्रकारका खोपको अभाव हुने गरे पनि २०८३/०४/२६ देखि सबै प्रकारका नियमित खोप उपलब्ध छन् । दैनिक २० देखि २५ जना खोप लगाउन आउने गरेका छन् ।

अस्पतालमा प्रत्येक शुक्रबार ३१ वर्षभन्दा माथिका महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा मंगलबार क्षयरोगको जिन एक्सपर्टमार्फत खकारको उच्चस्तरीय परीक्षण हुँदै आएको छ । स्वास्थ्य विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुगमन र स्वीकृतिपछि सर्पदंशको उपचार सेवा समेत सञ्चालन हुने अस्पताल प्रशासनले जनाएको छ ।
त्यस्तै, अस्पतालमा पोस्टमार्टम सेवा र ६ जना क्षमताको शव गृहसमेत रहेको छ ।

गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएका ६ वटा शव अस्पतालको शवगृहमा राखिएको थियो । तीमध्ये दुई जनाको पहिचान खुलेपछि परिवारलाई जिम्मा लगाइएको र चार जनाको पहिचान नखुलेपछि नवलपरासी पठाइएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालबाट नियमित सेवा लिँदै आएका टेकबहादुर भण्डारीले उपचार सेवा राम्रो भए पनि बिमाबाट पाइने औषधि कहिलेकाहीँ उपलब्ध नहुँदा समस्या हुने गरेको बताए । रामप्रसाद भुसालले अस्पतालमा कुपन प्रणाली भए पनि सेवा लिने क्रममा बिरामीबीच तँछाडमछाड हुने र कहिलेकाहीँ झगडासमेत हुने भएकाले व्यवस्थापन सुधार गर्नुपर्ने बताए ।

पहिलोपटक अस्पताल पुगेकी यमकुमारी चौधरीले अस्पतालको व्यवस्थापन राम्रो लागेको बताइन् । लगातार रगत बगेपछि परीक्षणका लागि अस्पताल पुगेकी उनले भिडियो एक्स–रे गराएको र चिकित्सकको परामर्शअनुसार औषधी लैजाने बताइन् ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख तथा पिपरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चक्रपाणी अर्यालले अस्पताललाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रयास भइरहेको बताए । उनले १५ देखि २५ शैयाको अस्पताल निर्माणका लागि आवश्यक फाइल तयार भइसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?