Butwal Today

चौबीसै घण्टा व्यवसाय, सुरक्षामा कडाइ

२८ भाद्र २०८३, आइतबार
अ+
अ-

बुटवल । रुपन्देहीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलाई लक्षित गर्दै मापदण्ड पूरा गरेका व्यावसायिक प्रतिष्ठान चौबीसै घण्टा सञ्चालन गर्न पाउने भएका छन् ।

पूर्ण समय व्यवसाय सञ्चालनसम्बन्धी कार्यविधि, २०७९ ले तोकेका मापदण्ड पूरा गरेका होटल, डान्स रेष्टुरेन्ट, बार, दोहोरी, लाइभ ब्यान्ड, पव, डिस्को, क्लब, लाउञ्जलगायतका व्यवसायलाई चौबीसै घण्टा सञ्चालनको अनुमति दिने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलपछि व्यवसाय सञ्चालनको समयसीमा पुनरावलोकन गर्दै यस्तो व्यवस्था गरिएको हो । यसअघि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासनको अनुमतिमा राति १ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न दिइएको थियो ।

पर्यटन गतिविधि बढाउने, रोजगारी सिर्जना गर्ने तथा जिल्लाको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले व्यवसायी, स्थानीय तह तथा सम्बन्धित संघसंस्थाले रात्रीकालीन व्यवसाय सञ्चालनको समयसीमा बढाउन माग गर्दै आएका थिए । उनीहरूको मागपछि प्रशासनले प्रचलित कानुन र निर्धारित मापदण्डको अधीनमा रहेर पूर्ण समय व्यवसाय सञ्चालनको बाटो खुला गरेको हो ।

प्रशासनका अनुसार चौबीसै घण्टा व्यवसाय सञ्चालन गर्न चाहने प्रतिष्ठानले कार्यविधिको अनुसूची–१ बमोजिमको अनुगमन सूचकसहितको फाराम भरी व्यवसाय सञ्चालन गर्ने समय स्पष्ट उल्लेख गरेर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ । निवेदन परेपछि अनुगमन समितिले प्रतिष्ठानको मापदण्ड पूरा भए–नभएको निरीक्षण गर्नेछ ।

कार्यविधिमा स्वास्थ्य, सुरक्षा, कर्मचारी व्यवस्थापन, सरसफाइ र पेशागत आचरणलगायतका विषयलाई अनिवार्य गरिएको छ । तोकिएका सबै मापदण्ड पूरा गरेका प्रतिष्ठानलाई मात्र प्रशासनले पूर्ण समय व्यवसाय सञ्चालनको अनुमति दिने जनाएको छ । चौबीसै घण्टा व्यवसाय सञ्चालनको अनुमति दिए पनि सुरक्षा र सामाजिक अनुशासनमा भने प्रशासनले कडाइ गर्ने भएको छ ।

होटल, डान्सबार, डिस्कोलगायतका प्रतिष्ठानबाट निस्किएका ग्राहक सडक पेटीमा अनावश्यक रूपमा जम्मा हुने, अश्लील तथा अपाच्य शब्द प्रयोग गर्ने वा आपसमा विवाद गर्ने अवस्था आउन नदिन सम्बन्धित स्थानीय तहले नियमित अनुगमन गर्नुपर्ने निर्णय गरिएको छ ।

व्यवसाय सञ्चालनका क्रममा विवाद उत्पन्न भए सम्बन्धित स्थानीय तहले सहजीकरण गर्नुपर्नेछ । अनुमति नलिई वा निर्धारित मापदण्ड पूरा नगरी सञ्चालन भएका व्यवसायको अनुगमन गरी बन्द गराउने जिम्मेवारी पनि स्थानीय तहलाई दिइएको छ ।

रात्रीकालीन व्यवसाय धेरै स्थानमा छरिँदा सुरक्षा व्यवस्थापनमा चुनौती देखिने भएकाले स्थानीय तहले त्यस्ता व्यवसायलाई निश्चित क्षेत्रमा केन्द्रित गर्न प्रोत्साहन गर्नुपर्ने निर्णयमा उल्लेख छ । यसले सुरक्षा निगरानीसँगै व्यवसाय व्यवस्थापनलाई समेत सहज बनाउने अपेक्षा गरिएको छ ।

पूर्ण समय व्यवसाय सञ्चालन भएका स्थानीय तहले रातिको समयमा नगर प्रहरी परिचालन गरी नियमित गस्ती र निगरानीको व्यवस्था गर्नुपर्नेछ । त्यसैगरी, राति मादक पदार्थ सेवन गरी घर फर्किने ग्राहकको सुरक्षामा समेत व्यवसाय सञ्चालकलाई जिम्मेवार बनाइएको छ ।

अनुमति प्राप्त प्रतिष्ठानले मादक पदार्थ सेवन गरेका ग्राहकलाई आफैंले सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउने वा त्यसका लागि आवश्यक व्यवस्था मिलाउनुपर्नेछ । त्यस्ता ग्राहकका कारण दुर्घटना भएको प्रमाणित भए सम्बन्धित प्रतिष्ठान नै जिम्मेवार हुने निर्णयमा उल्लेख छ ।

रुपन्देहीमा रात्रीकालीन व्यवसाय सञ्चालनको अभ्यास यसअघि २०७९ सालमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पहलमा सुरु भएको थियो । पछिल्लो निर्णयले भने व्यवसाय सञ्चालनको समयसीमा विस्तारसँगै त्यसलाई स्वास्थ्य, सुरक्षा र सामाजिक उत्तरदायित्वसँग जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?