© 2026
सल्यान । हिउँदयाममा धुलो, वर्षामा हिलो, पहिरोले सडक थुन्ने, यात्रु घण्टौँसम्म बिच बाटोमै अलपत्र पर्ने र पहिरो पन्छाएर बल्ल यातायात सञ्चालन गर्ने राप्ती राजमार्गको पुरानै समस्या यस वर्ष पनि दोहोरिएको छ ।
गत सोमबार रातिदेखि अवरुद्ध सल्यान–दाङ सडकखण्ड मंगलबार बिहान खुले पनि राजमार्गको दीर्घकालीन समस्या भने अझै उस्तै छ । सोमबार राति खारखोलाको पहिरोमा परेर घाइते भएका सल्यान त्रिवेणी– ३ लोटाउने निवासी झक्कु पुनका १७ बर्षीय छोरा भलिबल खेलाडी मदन पुनको उपचारको क्रममा मृत्यु भयो । साथै उक्त दुर्घटनामा १८ वर्षीय सुनिल थापा घाइते भए ।
यस राजमार्गको चोरखोला, खारखोला, राम्री, रारेचौर लगायतका क्षेत्रमा पहिरो खस्ने र घण्टौँसम्म सडक बन्द हुने समस्या वर्षौँदेखि दोहोरिँदै आएको छ । खारखोला क्षेत्र नयाँ कटिङ भएकाले जोखिमयुक्त छ भने चोरखोला, राम्री, हरनेटी क्षेत्र पनि भौगोलिक अवस्था लगाएतका कारणले खतरायुक्त छन् । सडकको अवस्था सुधारका लागि विभिन्न खण्डमा अहिले स्तरोन्नतिको काम भइरहेको छ ।
तर सडकको ठूलो हिस्सा अझै सुधारको पर्खाइमा छ । सडक डिभिजन कार्यालय दाङका प्रमुख सिडिई दिपेन्द्रबहादुर विष्टका अनुसार अमेलियादेखि सल्यान र रुकुम पश्चिमको सीमाना खौलावाससम्म करिब १३२ किलोमिटर सडक सडक डिभिजन दाङको कार्यक्षेत्रमा पर्छ ।
अमेलियादेखि तुलसीपुर सम्मको करिब ३२ किलोमिटर सडक तुलनात्मक रूपमा ठीक अवस्थामा रहेपनि बाँकी करिब १०० किलोमिटरमध्ये अहिले करिब २२ किलोमिटरमा मात्रै विभिन्न चरणमा काम भइरहेको विष्टले बताए ।
करिब ७८ किमी सडक अझै चौडा तथा व्यवस्थित बनाउन बाँकी छ । पर्याप्त बजेट नहुँदा आवश्यकता अनुसार सम्पूर्ण खण्डमा एकैपटक काम अघि बढाउन सकिएको छैन । तत्काल सुधार गर्नुपर्ने खण्डका रूपमा रारेचौरदेखि खौलावाससम्मको करिब १६ किलोमिटर सडक रहेको छ । हाल राप्ती राजमार्गको मुख्य चार क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा ठेक्का भएको राम्रीदेखि चोरखोला खण्डमा करिब चार किमी कालोपत्रे भइसकेको छ । अहिले सडकका मोडहरूमा ढलान गर्ने काम जारी छ । त्यस्तै दगौरा–हर्नेटी, सल्यानको सम्धीमोड–खारखोला र बागचौर–रारेचौर क्षेत्रमा पनि स्तरोन्नतिको काम भइरहेको छ । दाङको लाहुरेचौर जलकुण्डी–दगौरा खण्डका लागि भने यही असारमा ठेक्का आह्वान गरिएको र अहिले मूल्यांकनको चरणमा रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
राप्ती राजमार्गका केही खण्डमा सुधारको काम अघि बढेको भए पनि वर्षौँदेखि समस्या दिँदै आएका सबै जोखिमयुक्त क्षेत्रलाई समेटेर एकीकृत रूपमा काम हुन सकेको छैन । राप्ती राजमार्गको बागचौरदेखि श्रीनगरसम्मको खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गतसमेत पर्ने भएकाले त्यस क्षेत्रको स्तरोन्नतिका लागि मदन भण्डारी राजमार्ग आयोजनाले समेत ठेक्का प्रक्रिया अघि बढाउन सक्ने अवस्था थियो ।
तर त्यसतर्फ पनि अपेक्षित रूपमा काम हुन नसकेको देखिन्छ । राप्ती राजमार्ग कर्णालीका सल्यान, रुकुम पश्चिम लगायत जिल्लालाई दाङ हुँदै तराईसँग जोड्ने महत्वपूर्ण सडक हो । दैनिक ठूलो संख्यामा यात्रु तथा मालवाहक सवारीसाधन यही सडक भएर आवत जावत गर्छन् । तर सडकको स्तरोन्नति र जोखिमयुक्त क्षेत्रमा संरक्षणको काम पर्याप्त नहुँदा सामान्य वर्षा समेत यात्रुका लागि जोखिमपूर्ण बन्ने गरेको छ ।