Butwal Today

नेपाली लोकसंस्कृति संरक्षणका लागि अन्तरविद्यालय लोकनृत्य

२७ भाद्र २०८३, शनिबार
अ+
अ-

सिद्धार्थनगर । नेपाली लोकसंस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा मौलिक संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले सामूहिक विद्यालय परिवार रुपन्देहीले अन्तरविद्यालय नेपाली लोकनृत्य प्रतियोगिता आयोजना गरेको छ । शनिबार भैरहवामा आयोजि प्रतियोगितामा १३ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा करिब १३० जना विद्यार्थीहरुले विभिन्न नेपाली लोकनृत्य प्रस्तुत गरेका थिए । सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष विष्णुपन्थीले पछिल्लो समय नयाँ पुस्ता, विशेषगरी बालबालिकामा नेपाली लोकसंस्कृतिप्रतिको जानकारी र रुचि कम हुँदै गएको अवस्थामा मौलिक संस्कृतिको संरक्षणका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

उनले विद्यार्थीहरूलाई नेपाली लोकसंस्कृति र यसको महत्वबारे जानकारी गराउँदै उनीहरूमा संस्कृतिप्रति अपनत्वको भावना विकास गर्ने उद्देश्य रहेको बताए । विद्यार्थी अवस्थामा नै लोकसंस्कृतिप्रति रुचि जगाउन सके भविष्यमा युवा पुस्ताले समेत नेपाली लोकसंस्कृतिको संरक्षणमा योगदान पु¥याउने उनको भनाइ छ । सामूहिक विद्यालय परिवारले यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिँदै आएको अध्यक्ष विष्णुपन्थीले बताए । उनका अनुसार संस्थाले करिब २५ वर्षदेखि विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

यसअघि करिब १० देखि १५ वर्षसम्म तीजका मौलिक गीतलाई प्राथमिकता दिँदै कार्यक्रम सञ्चालन गरिएको थियो । पछिल्लो समय तीज गीतमा मौलिकता हराउँदै गएको र सामाजिक रूपमा अपाच्य सामग्रीसमेत समावेश हुन थालेपछि लोकसंस्कृतिको संरक्षणका लागि लोकनृत्य प्रतियोगितालाई प्राथमिकता दिइएको अध्यक्ष विष्णुपन्थीले बताए । प्रतियोगितामा आदर्श विद्या मन्दिर स्कुल प्रथम, नमुना इङ्लिस बोर्डिङ स्कुल द्वितीय, फ्लोरल इङ्लिस बोर्डिङ स्कुल तृतीय र फ्युचर लाइट इङ्लिस बोर्डिङ स्कुल सान्त्वना भएका छन् । अध्यक्ष विष्णुपन्थीले आगामी दिनमा पनि नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?